२०८२ जेष्ठ ११
बुटवल १० जेठ ।
लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२्०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको थियो । सभामुखले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए ।
दुई दिनदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । प्रदेश सरकारले
जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले आ आफ्ना धारणा राखेका थिए ।
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए । शनिबार बसेको छैठौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने बताए ।
उनले यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको पनि बताए ।
दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेश सभा सदस्यले सुझावसहित धारणा व्यक्त गरेका थिए ।
आत्मनिर्भर प्रदेश बनाउन सरकार आत्मनिर्भर बन्नुपर्छः विपक्षी दलका नेता महरा
शनिवारको लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता जोखवहादुर महराले प्रदेश आत्मनिर्भर बन्न प्रदेश सरकार आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । उनले प्रदेश सरकार आत्मनिर्भर बन्न अनियमितता तथा राजश्व चुहावट रोक्नुपर्ने, करको दायरा बढाउनुपनमा जोड दिएका छन् ।
उनले सरकारले राजश्व संकलन वृद्धि गर्दै बजेट पनि बढाउनुपर्नेमा जोड दिए । विपक्षी दलका नेता महराले नीति तथा कार्यक्रम माथि छलफलका लागि समय कम भएको पनि टिप्पणी गरे । चैतमै प्रदेश सभा बैठक शुरु गरेको भए नीति तथा कार्यक्रमका लागि समय प्रशस्त हुन सक्नेमा त्यसो हुन नसकेको भन्दै बजेट राम्रो बनाउन सुझाव दिए । नीति कार्यक्रममा नारा राम्रा भएको तर प्रदेश सम्बृद्ध र प्रदेश बासी सुखी हुने खालको बजेट आउने र कार्यन्वयन हुनेमा आंशका ब्यक्त गरे । मन्त्रालयहरुलाई दिइएको बजेटको सिलिङले बजेटको आकार घट्ने देखिएको धारणा राख्दै उनले बजेट ५० अर्ब भन्दा माथिको आउनुपर्नेमा घट्ने चर्चा भयरहेकोमा चिन्ता प्रकट गरे ।
बजेट पहुचका आधारमा नभइ सिंगो प्रदेशलाई केन्द्रमा राखेर न्यायोचित विकास हुनुपर्नेमा पनि उनले जोड दिए । संघ, प्रदेश र स्थानिय तहवीचको तालमेल हुने गरी कार्यक्रम अगाडी बढाउन पनि उनले सुझाव दिए । कार्यान्वयन हुने गरी बजेट ल्याउन सुझाव दिदै सरकार सफल हुने गरी अगाडी बढ्न शुभकामना पनि उनले दिए ।
छलफलमा भाग लिदै एमालेका भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा आएका कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रका बारेमा चर्चा गर्दै कार्यक्रम राम्रा भएको र असल नियतबाट अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेसका राजु खनालले ग्रामिण पर्यटन देखि कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई सम्बोधन गर्दै नीति कार्यक्रम आएको बताए ।
छलफलमा भाग लिदै सत्ता पक्ष तथा विपक्षी दलका सांसदहरुले नीति कार्यक्रमका बारेमा आ आफ्ना धारणा राखेका थिए ।