२०८२ चैत्र १२

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा पहिलो
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १२, बिहीबार ०९:५९ गते

बुटवल १२ चैत ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि सेकेण्डरी बी लेभल अस्पतालहरुको उक्त मुल्याङ्कनमा सुधार गर्दै ९० अंकसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको अस्पतालले जनाएको छ ।
अस्पतालले गत वर्ष ८९ अंक प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो । अस्पतालमा आयोजित सेवा मुल्याङ्कन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । यस अस्पतालसँगै भक्तपुर अस्पतालले समेत समान ९० अंक प्राप्त गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जनताले महशुस गर्नेगरी काम गर्न निर्देशन दिए । उत्कृष्टता हासिल गर्नुभन्दा पनि यसलाई निरन्तरता दिनु चुनौतिपूर्णभएको बताउँदै उनले थप सुधारका काममा लाग्न आग्रह गरे ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले सेवालाई थप बिस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ती व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरे ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले न्युनतम स्वास्थ्य सेवा मापदण्ड मुल्याङ्कनमा प्राप्त अहिले नतिजा प्रयाप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे । उनले न्युनतम सेवा मुल्याङ्कनका मादण्ड अनुसारका आधारभुत कुराहरुको व्यवस्थापनमा सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले नीति बनाउँदा कार्यन्वयनको पाटोलाई समेत ध्यान राख्न आग्रह गरे ।
यसैगरी अस्पतालको निर्माणाधिन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखिनै सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा जोड दिए । अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तरगत एमआरआई सेवा सञ्चालन, गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएस मार्फट मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा बिस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरु भएको जानकारी गराए । वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधनगरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको पनि उनले बताए ।
उनका अनुसार अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भैरहेको उल्लेख गरे ।अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।