२०८२ चैत्र २८

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौंः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८२ चैत्र २७, शुक्रबार १५:५० गते

बुटवल २७ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेको बताउदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।
नेपाल भेटेरिनरी एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक विशेषज्ञहरूसँगको सहकार्यमार्फत अनुसन्धानलाई नतिजामुखी बनाउन सकिने बताए । उनले किसानलाई व्यावसायिक बनाउन प्राविधिक क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे ।
नयाँ समस्या देखिँदा त्यसको पहिचान र समाधानका लागि अनुसन्धान गर्ने जिम्मेवारी प्राविधिकहरूले लिनुपर्ने उनको भनाइ थियो । मानिसका डाक्टरभन्दा पशु चिकित्सकहरूको जिम्मेवारी अझ बढी हुन्छ, उनले भने,पशुमा लाग्ने रोगको सही निदान र उपचार भएमा मानिसमा सर्ने धेरै रोगहरू स्वतः नियन्त्रण हुन्छन् । त्यसैले भूमिका महत्त्वपूर्ण छ ।
मुख्यमन्त्री आचार्यले अस्वस्थकर खाद्य प्रणाली नै धेरै रोगहरूको मूल कारण रहेको पनि औंल्याए । उनले परम्परागत पेशालाई बेवास्ता गर्दा उत्पादनमा कमि आएको उल्लेख गर्दै त्यसतर्फ पुनः ध्यान दिन आवश्यक रहेको बताए ।