२०८२ चैत्र ३०

रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन उद्घाटन
  • लुम्बिनी खोज
  • २०८२ चैत्र २९, आईतवार १५:२८ गते

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार प्राथमिकताः मुख्यमन्त्री आचार्य

बुटवल २९ चैत ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवनको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन । सिस्ने गाउँपालिका ५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गरेका हुन । साथै, नव निर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । सर्वसुलभ रूपमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जनशक्तिको अभाव हुन दिएका छैनौं । रिक्त हुँदा बित्तिकै जनशक्ति पठाउने व्यवस्था मिलाएका छौं, मुख्यमन्त्री आचार्यले भने, विशेषज्ञ जनशक्ति पुर्‍याउन केही चुनौती छन । ती चुनौतिलाइ समाधान गर्नेगरी सरकारले काम गरिरहेको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रुकुम पूर्व लगायत विशिष्ट प्रकृतिका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जिकिर गरे ।
प्रदेश सरकारको १४ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस ५० शय्याको अस्पतालले अब स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
संघीयतापछि २०७४ सालमा रुकुम पूर्व छुट्टै जिल्ला बनेपछि साविकको इलाका स्वास्थ्य कार्यालयकै संरचनाबाट जिल्ला अस्पतालको सेवा सञ्चालन हुँदै आएको थियो । सीमित भौतिक संरचना र जनशक्तिका कारण अस्पतालले अहिलेसम्म मुस्किलले १५ शय्यासम्म सेवा दिँदै आएको अवस्था थियो । २०७८ सालमा निर्माण सुरु भएको अस्पताल भवन निर्माण कार्य सम्पन्न भएपछि गत पुस महिनामा हस्तान्तरण गरिएको थियो ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वस्थित यो अस्पताल अहिले ५० शय्याको क्षमतामा सञ्चालनमा आएको छ । हाल दैनिक करिब १०० जना बिरामीले ओपिडी सेवा लिँदै आएका छन् ।
अस्पतालबाट अन्तरङ्ग सेवा, फार्मेसी सेवा, विशेषज्ञ दन्त रोग उपचार सेवा, फिजियोथेरापी सेवा, ल्याब सेवा, एक्स–रे सेवा,घ सुत्केरी आमा तथा नवजात शिशु स्वास्थ्य सेवा, सुत्केरी बिरामीका लागि कुरुवा घर, आँखा स्वास्थ्य लगायतका सेवा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण खरालले जानकारी दिए ।