२०८३ बैशाख २५
काठमाण्डौं २४ बैशाख ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको परिषद् बैठकले उनलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो। संवैधानिक परिषद् बैठकले ३३औँ प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. शर्मालाई सिफारिस गरेको हो।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण १८ चैतमा अवकाश भएका थिए। न्यायपरिषद्ले सिफारिस गरेकामध्येबाट शर्माको नाममा प्रधानमन्त्री बालेन्द्र शाह, कानुनमन्त्री सोविता गौतम, सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रुबीकुमारी ठाकुर सहमत भएका हुन्।
परिषद्ले २६ फागुनमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।
डा. शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि प्रधानन्यायाधीश नियुक्त हुनेछन्।