२०८३ बैशाख २८

सयजना चालकलाई चेकजाँच गर्दा १७ जना लागुऔषध सेवनकर्ता
  • लुम्बिनी खोज
  • २०८३ बैशाख २७, आईतवार १६:४२ गते

बुटवल २७ बैशाख ।
रुपन्देहीका विभिन्न सडकखण्डहरूमा सवारीचालकहरूलाई चेकजाँच गर्दा १७ जनाले लागुऔषध सेवन गरी सवारी चलाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक सवारी साधनहरूमा चालकहरूले लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेका छन् भन्ने विशेष सूचनाका आधारमा चेक जाँच गर्दा १७ जना चालक लागुऔषध सेवनकर्ता भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लागुऔषध सेवन गरेका चालकहरूबाट हुन सक्ने सम्भावित ठुलो धनजनको क्षति तथा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न चेक जाँच गरिएको हो ।
लागुऔषध सेवन गरेका चालकहरूलाई कानुनबमोजिम कारबाही गर्न जिप्रका रुपन्देहीको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जसमेतबाट खटिएको प्राविधिक चिकित्सकसहितको टोलीले आकस्मिक रूपमा दुई घण्टा चेक जाँच गरेको हो ।
रुपन्देहीका विभिन्न स्थानहरूमा आकस्मिक चेकपोइन्ट स्थापना गरेर चेकजाँच गरिएको थियो । यात्रुवाहक सवारीसमेत चलाइरहेका सार्वजनिक सवारीसाधनहरूका एक सयजना चालकको पिसाब ड्रग किटमा राखी तत्कालै परीक्षण गर्दा १७ जना चालकमा लागुपदार्थ सेवन गरेको पाइएको हो ।
ती चालकलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि तत्कालै जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रनाउ चन्दले जनाएका छन् ।
उनीहरू ३० वर्षमुनिका रहेका छन् । २२ देखि ४८ वर्षसम्मका पक्राउ परेकोमा ३० वर्षभन्दा कम उमेरका १० जना रहेका छन् । त्यस्तै १० जना रुपन्देहीका र दुईजना नवलपरासीका रहेका छन् । त्यस्तै, अर्घाखाँची, कैलाली, दाङलगायतका जिल्लामा घर भएकाहरू पनि पक्राउ परेका छन् ।