२०८३ बैशाख २९
बुटवल २९ बैशाख ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पर्वतबाट अर्घाखाँची घुम्न आएका यात्रु सवार ध १ ख ५०४ नम्बरको बस मंगलबार दिउँसो घुम्ती–पाल्पा सडक खण्डको पाणिनि गाउँपालिका–८, कोल्डाँडानजिकै दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार मृत्यु हुनेहरूमा कास्की पोखरा महानगरपालिका– १९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, सोही वडाकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वत जिल्ला मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र सोही वडाका ४५ वर्षीय बसचालक रमेश जिसी रहेका छन्।
घाइतेहरूको अर्घाखाँची अस्पताल र तानसेनमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बस सडकदेखि १८० फिट तल खसेको सूचना अधिकारी शर्माले जानकारी दिए।