२०८३ जेष्ठ ८

लुम्बिनी सीप च्याम्पियनसिपमा प्राविधिक शिक्षाबारे बहस
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ ८, शुक्रबार १३:५० गते

बुटवल ८ जेठ ।
युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा गरिएको ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ मा प्राविधिक शिक्षाबारे बहस गरिएको छ।
सीपमूलक शिक्षा अध्ययन गरिरहेका प्रदेशका १२ जिल्लाका करिब १ हजारभन्दा बढी विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताहरुलाई सरोकारवाला निकायसँग एकै मन्चमा राखेर छलफल गरिएको हो । रुपन्देही उद्योग संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तममा शुक्रबार आयोजित लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आईटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो भने स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगहरुले आफ्नो प्रदर्शनी गरेका थिए । दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको यो कार्यक्रमलाई संचालनका लागि रुपन्देही उद्योग संघलाई इन्स्योर परियोजनाले साथ दिएको थियो । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबिच असन्तुलनको अवस्था रहेको भन्दै यसबाट रोजगारदाता तथा रोजगारी खोजिरहेका युवाबिच प्रभावकारी समन्वयको आवश्यकता अझ बढी महसुस गरी यस किसिमको कार्यक्रम आयोजना गरिएको र सरकोकारवाला निकाय, उद्योगी तथा विभिन्न प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालयबाट ठूलो संख्यामा विद्यार्थीहरु सहभागी गराइएको उनले बताए। अध्यक्ष पराजुली नयाँ पुस्तालाई प्रविधिमैत्री बनाउन यो परियोजनाले सीपमूलक शिक्षामा लगानी गरेको र पढ्दै काम गर्दै अघि बढाइएकोले निकै प्रभावकारी भएको बताए ।
लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा गराइएको र प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमको वर्तमान अवस्था, चुनौती र अवसरसम्बन्धी विषयमा विज्ञहरूसँग प्यानल छलफल गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिनाले प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमलाई प्रदेश सरकारले पनि साथ दिएको बताए।
विद्यालय तहबाट नै व्यवहारिक प्राविधिक शिक्षा अघि बढाउनुपर्ने धारणा राख्दै उनले प्रविधिलाई सदुपयोग गर्न नसके अघि बढ्न सकिदैन भन्ने विषय सबैले बुझ्न जरुरी रहेको बताए ।
इन्स्योर प्रदेश प्रमुख अम्बिकाप्रसाद तिमिलसिनाले प्राविधिक शिक्षातर्फ नयाँ पुस्तालाई जानकारी दिने र निजी क्षेत्रलाई यसबारे अग्रसरता बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाए । ‘नयाँ पुस्तालाई प्राविधिक ज्ञानबारे जानकारी दिने, उद्योगमा भएका संभावनाबारे जानकारी दिने, प्राविधिक शिक्षा कस्तोखालको छ र कसरी समन्वय गर्न सकिन्छ भनेर सरोकारवालालाई सँगै राखेर बहस गराउने र प्रदेश तथा स्थानीय सरकारलाई यसको ध्यानाकर्षण गराउने मुख्य उद्देश्य हो, जुन आज त्यो सफलता पाएको छ’ उनले भने ।
कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास एकाइ तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको ठूलो सहभागिता रहेको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष दिनेशराज रेग्मीले जबसम्म प्राविधिक सीपमा दक्षता हुँदैन तबसम्म देश विकास संभव हुँदैन भन्दै उद्योग व्यवसाय प्रवद्र्वनका लागि प्राविधिक सिप जरूरी रहेको बताए ।
कार्यक्रममा नेपालको आर्थिक विकासमा प्राविधिक क्षेत्रको महत्वका विषयमा विज्ञहरुसहितको प्यानलगत छलफल भएको थियो । अध्यापक तथा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार लालहरि पाण्डेले संचालन गरेको यो कार्यक्रममा विज्ञ सदस्यका रुपमा सामाजिक विकास मन्त्रालय लुम्बिनीका सचिव दिवाकर भण्डारी, इन्स्योर परियोजनाका टीम लिडर रबिन्द्र बहादुर सिंह, सिटिइभिटी लुम्बिनी प्रदेश कार्यालय निर्देशक अच्युतराज तिमिल्सिना, ठाकुरबाबा नगरपालिका बर्दियाका उपप्रमुख बिनाकुमारी भट्टराई र रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली रहेका थिए । उनीहरुले आफ्नो क्षेत्रबाट प्राविधिक शिक्षाका लागि आफ्नो तर्फबाट समन्वय तथा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमको समापनमा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले यस्ता कार्यक्रममले सबै पक्षलाई सहजता ल्याउने बताए ।
प्रतिस्पर्धामा होटल म्यानेजमेन्टबाट तिलोत्तमाको शान्ति नमुना स्कुलका विजयबहादुर बुढामगर, आइटीतर्फ लिलाराम मावि भैरहवाका सिद्धार्थ यादव, अटोमोबाइलतर्फ महाकवि देवकोटा माविका सन्तोष चौधरी प्रथम भई पुरस्कृत भएका छन् । त्यसैगरी उत्कृष्ट उद्योगीतर्फ लोक शुशिला अटो कन्सर्न, पन्जकन्या ग्रुप, लिटमस इन्डष्ट्रीज, विश्राममबाटिका होटल, क्रिम हाइडल, भैरहव टेक्नोपार्क, आरम्भ निर्माण सेवा तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ दुधधारी मावि कपिलवस्तु, पब्लिक माध्यमिक विद्यालय, कोरिया बहुप्राविधिक शिक्षालय, तुल्सीपुर सेन्टर मावि, भेरी प्राविधिक शिक्षालय पुरस्कत भएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।
त्यसैगरी उत्कृष्ट अंक ल्याएर छात्रवृत्ति पाउने शान्तिनमुना माविका लक्ष्मी भण्डारी, शान्तिनमुना माविका आयुश कोहार, जनता माविका सन्दप धवल, मावि तुलसपिुर सेन्टरका सिमा रावत, कोरियानेपाल पालिटेक्निकल इन्टिच्युटका अमिश थारु सरस्वती मावि घोराही दाङका सलिना डाँगी पुरस्कृत भएका छन् ।