२०८३ जेष्ठ १२

लुम्बिनीमा नीति तथा कार्यक्रममाथि छलफल सुरु
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ १२, मंगलवार १४:४९ गते

बुटवल १२ जेठ ।
लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८३।०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि आर्थिक वर्ष २०८३।०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।
बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य ले‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन् ।
छलफलमा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मिना कुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थीले भाग लिदै प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।
थारु समुदायको प्रथाजनित विधेयक पेश
यसैबीच, बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’पनि पेश गरिएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन् ।
बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए । प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।