२०८३ जेष्ठ २६
बुटवल २५ जेठ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट चारजना र जनता समाजवादी पार्टीबाट एकजना गरी पाँचजना नयाँ मन्त्री नियुक्त भएका छन् ।
नयाँ नियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् ।
तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायतको उपस्थिति रहेको थियो ।
