२०८३ असार १५

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियानः २५ लाख बिरुवा रोप्ने लक्ष्य
  • लुम्बिनी खोज
  • २०८३ असार १४, आईतवार १५:१४ गते

बुटवल १४ असार ।
लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो । प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको र ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ । सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिने जनाइएको छ ।
अभियानको शुभारम्भ आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका २ महदेवास्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरुवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजीत थारुले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै संकट निम्त्याउने चेतावनी दिए । उनले वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य ठाउँमा मौवा प्रजातिका बिरुवा, डाले घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । बिरुवा रोपेर मात्रै नहुने, त्यसको नियमित संरक्षण र हेरचाह गर्नुपर्ने उनको भनाइ थियो । लमही नगरपालिकाका कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयआर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औंल्याइन ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको सिर्जनामा तयार गरिएको वन संरक्षणसम्बन्धी गीतको समेत मुख्यमन्त्री आचार्यले सार्वजनिक गरे ।