२०८३ असार १५

सीमा अतिक्रमण रोक्न कुटनीतिक पहल गर्न सुस्ता बचाउ अभियानको माग
  • लुम्बिनी खोज
  • २०८३ असार १४, आईतवार १५:२३ गते

बुटवल १४ असार ।
सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले सीमा अतिक्रमण रोक्न कुटनीतिक पहल गर्न माग गरेको छ । पटक पटक हुने भारतीय सुरक्षाकर्मीको ज्यादती तथा सीमा अतिक्रमण रोक्न भारत सरकारसग कुटनीतिक पहल गर्न दवाव दिन सरकारको ध्यानाकर्षण गराउन अभियानको टाली काठमाण्डौं जाने तयारीमा समेत रहेको छ ।
अभियानले सीमा सुरक्षा सगै सुस्ता वासीमा नागरिकताको समस्या पनि जोडतोडले उठाएको छ । त्यस्तै भोगचलनमा रहेको जगगाको नापजाच गरी लालपुर्जा वितरण गर्न समेत माग गरेका छन् ।
आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभियानले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन समेत सरकारसँग आग्रह गरेको छ । कार्यक्रममा सुस्तामा बसोबास गर्दै आएका तर नेपाली नागरिकता नभएका ब्यक्तिहरु पनि उपस्थीत थिए । उनीहरुले आफूहरु वर्षौं दे
खि सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादति विरुद्ध लडदै आएपनि नागरिकताबाट बन्चित हुन परेको बताए । उनीहरुका अनुसार सुस्ताका करिब १२० परिवारका नागरिकको नागरिकता छैन् । आफूहरूसँग नेपाली नागरिकता नहुँदा भारतीय पक्षको अतिक्रमण बिरुद्ध बोल्न र प्रतिवाद गर्न कठिन भएको गुनासो उनीहरुको छ ।
अभियानका अध्यक्ष आदम खाँले सुस्ताको समस्या सरकारले नसुनेका कारण काठमाण्डौंमा जाने तयारीमा आफूहरु रहेको बताए । उनले सुस्ताको समस्या वर्षौ देखिको रहेको चर्चा गर्दै विगतमा पनि सरकारको ध्यानाकर्ष गराउदै आएपनि आफूहरुका माग सम्बोधन हुन नसकेको गुनासो गरे । उनले सीमाका विषयमा प्रधानमन्त्री नै वोल्नुपर्ने बताए । उनले विगतमा गिरिजाप्रसाद कोइरालालगायतका सबै प्रधानमन्त्रीहरुलाई घचघचाउदै आएको बताए । उनले जनता बालेन्द्रसरकारसग आसावादी रहेको भन्दै प्रधानमन्त्रीले समस्या समाधानमा लाग्नुपर्ने बताए ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले सुस्ता समस्याबारे सरकारको ध्यानाकर्षण गराउन छिट्टै काठमाडौं जाने तयारी भइरहेको जानकारी दिए।
पत्रकार सम्मेलनमा सुस्ता बचाउ अभियानका मुन्ना खाँ र लैला बेगम तथा सुस्ता बचाउ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतमले पनि सुस्तावासीको नागरिकता समस्या र सीमा अतिक्रमणप्रति राज्य गम्भीर बन्न नसकेको बताएका थिए ।
शिक्षा, स्वास्थ्य, सडक, सञ्चारलगायत आधारभूत सेवामा सुस्तावासीको पहुँच सुनिश्चित गर्न पनि उनीहरुले माग गरेका छन् ।