२०८३ श्रावण २०

लुम्बिनीमा एक वर्ष ४७९७ सवारी दुर्घटना, ५८५ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८३ श्रावण २०, बुधबार १३:४० गते

बुटवल २० साउन ।
लुम्बिनी प्रदेशमा एक वर्षमा ४ हजार ७९७ सवारी दुर्घटना हुँदा ५८५ जनाले ज्यान गुमाएका छन्। यी दुर्घटनामा ६ हजार ८२२ सवारीसाधन संलग्न रहेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति हो। तीव्र गतिका कारण प्रदेशमा तीन हजार २९५ सवारी दुर्घटना भएको छ। त्यस्तै चालकले मादक पदार्थ सेवन गर्दा ६१३, चालकको असक्षमता तथा लापरवाहीका कारण ५३५, अन्य लापरवाहीका कारण १०९, अनावश्यक ओभरटेकका कारण १९, लेन उल्लंघनका कारण ४, मोवाइफोन प्रयोगका कारण २ र निद्रा तथा थकानका कारण ४ वटा सवारी दुर्घटना भएको तथ्यांक छ।

त्यस्तै सवारी साधनको प्राविधिक कारण पनि दुर्घटना भएको विश्लेषण प्रहरीले गरेको छ। गत आर्थिक वर्षको तथ्यांकअनुसार ब्रेक फेल भएर ५३, अन्य प्राविधिक समस्याबाट १६, ओभरलोडबाट ९, टायर पञ्चरबाट ५, स्टेरिङ फेल भएर ३, टायर खुस्किँदा ३, हाइड्रोलिक प्रणाली फेल भएर २ तथा गेयर प्रणाली फेल भएर एउटा दुर्घटना भएको छ।

सडक प्रयोगकर्ता तथा यात्रुका कारण पनि दुर्घटना भएको पाइएको छ। तथ्यांक अनुसार हतारमा बाटो काट्दा १३, मापसे गरी हिँडेकाबाट ४, अन्य लापरवाहीबाट ४, अभिभावकको असावधानीका कारण २ वटा दुर्घटना भएका छन्। त्यस्तै, ध्यान नदिइ सवारी साधनबाट ओर्लिँदा ११, झुण्डिएर यात्रा गर्दा ८, ध्यान नदिइ सवारीसाधन चढ्दा ५, झ्यालबाट शरिरको अंग बाहिर निकाल्दा १ र अन्य लापरवाहीबाट २० वटा सवारी दुर्घटना भएका छन्।

सडकको अवस्था तथा मौसमका कारण पनि सवारी दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ। ओरालो सडकका कारण ५, उकालो सडकका कारण ३, घुम्ति तथा मोडका कारण ५, चिप्लो सडकका कारण ५, साँघुरो सडकका कारण ३, खाल्डा–खुल्डीका कारण ३, अन्य सडकजन्य कारण ३ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ। यसैगरी, कमजोर भिजिबिलिटी ९हुस्सु तथा कुहिरो०का कारण १ र वर्षाका कारण एउटा दुर्घटना भएको छ। सडक जनावरका कारण २३ वटा दुर्घटना भएका प्रहरी तथ्यांकमा उल्लेख छ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुमा धेरै पुरुष रहेका छन्। लुम्बिनी प्रदेशमा ५८५ जनाको मृत्यु भएकोमा ४२४ जना पुरुष र ११० जना महिला छन्। ३४ बालक र १७ बालिका रहेका छन्।

यस प्रदेशमा अघिल्ला आर्थिक वर्षको तुलनामा यस गत आर्थिक वर्षमा दुर्घटना बढेको छ। आर्थिक वर्ष २०८०।०८१ मा एक हजार १२० सवारी दुर्घटनामा ४९६ जनाले ज्यान गुमाउँदा आव ०८१।०८२ मा ३ हजार ४७९ सवारी दुर्घटनामा ५०६ जनाले ज्यान गुमाए। प्रदेशको पछिल्ला तीन वर्षका तथ्यांक हेर्दा प्रत्येक वर्ष दुर्घटना को संख्या बढ्दो रहेको छ।

चेतनामुलक कार्यक्रम देखि प्रहरी परिचालनमा जोड
बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रमले जोड दिने भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक मोहनजंग बुढा थापाले नियमित चेकजाचका अतिरिक्त जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताए । दुर्घटनाका कारणहरुको विश्लेषण गर्दा तीव्र गतिका कारण धेरै दुर्घटना भएको पाइएको र अन्य कारणहरु समेतलाई ध्यान दिदै धेरै प्रहरी परिचालन देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।