२०८३ मंसिर ४

औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय अधिवेशन मङ्सिर ५ र ६ गते सुर्खेतमा
  • लुम्बिनी खोज
  • २०८३ मंसिर ४, बिहीबार १३:२८ गते

बुटवल ३ मंसिर ।
नेपाल औषधी व्यवसायी सङ्घको १५औँ राष्ट्रिय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी मङ्सिर ५ र ६ गते हुने अधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्नुका साथै औषधी व्यवसायका नीतिगत, कानुनी तथा व्यावसायिक समस्या र आगामी कार्यदिशाबारे छलफल गर्नेछ ।

अधिवेशनमा सातै प्रदेश र ७७ जिल्लाबाट ३०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने, पछिल्लो कार्यकालको समीक्षा तथा अनुमोदन गर्ने र आगामी नीति तथा कार्ययोजना तय गर्ने कार्यक्रम छ ।

नेपालमा वार्षिक करिब ७० अर्ब रुपैयाँ बराबरको औषधी कारोबार हुँदै आएको छ । यस्तो संवेदनशील व्यवसायलाई व्यवस्थित, मर्यादित र नागरिकमैत्री बनाउने विषय अधिवेशनको प्रमुख एजेन्डा रहनेछ । विशेषगरी औषधी ऐन, २०३५ लाई समयअनुकूल संशोधन गर्नुपर्ने, औषधीको गुणस्तर र सुरक्षासँगै सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने विषय व्यवसायीले उठाउँदै आएका छन् ।

औषधीको उत्पादन, आयात, वितरण र बिक्रीवितरणलाई प्रभावकारी बनाउन नियमनकारी निकाय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको सङ्घको भनाइ छ । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले औषधीको गुणस्तर, मूल्य, उपलब्धता र कारोबारको पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्नेमा व्यवसायीहरूको जोड छ ।

सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसले देशभरका औषधी व्यवसायीबीच एकता सुदृढ गर्नुका साथै साझा समस्या र आगामी रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार अधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने साझा धारणा निर्माण गर्ने अवसर पनि हो ।

सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी व्यवसायीका साझा समस्या समाधानका लागि संस्थागत एकता र सहकार्य आवश्यक रहेको बताए । उनले राष्ट्रिय अधिवेशनले देशभरका व्यवसायीका सरोकारलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा तय गर्नुपर्ने उल्लेख गरे ।

कर्णाली प्रदेशमा हुन लागेको अधिवेशनको व्यवस्थापन प्रदेश अध्यक्ष प्रेमबहादुर भण्डारीको नेतृत्वमा भइरहेको छ । प्रदेश महासचिव दानबहादुर रोकाया, सुर्खेत जिल्ला अध्यक्ष रणबहादुर खड्कालगायत व्यवसायी तयारीमा सक्रिय छन् ।