२०८१ श्रावण १२

व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार
  • लुम्बिनी खोज
  • २०८० चैत्र १६, शुक्रबार १२:३४ गते

बुटवल १६ चैत ।
रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि सहमत भएका छन् । व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको प्रभाव पर्ने निश्कर्ष सहित सामुहिक पैरवीको लागि तयार भएका हुन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र एकाउन्टिविलिटी ल्यावको संहकार्यमा शुक्रबार भएको व्यवसायिक क्षेत्र विकासमा निजी क्षेत्रको पैरवी विषयक कार्यशाला गोष्ठीमा सहभागि जिल्लाका व्यवसायिक संघसंस्थाका प्रमुखहरुले सामुहिक पैरवीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
त्यसको लागि निजी क्षेत्र र स्थानीय सरकार बिच व्यवसायिक नीति संवाद मञ्चको स्थापना गर्ने र भईरहेको व्यवसाय स्थानान्तरणलाई व्यवस्थापन गर्न सामुहिक पहल गर्ने विषयमा सबै व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सहमत भएको बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराए ।
गोष्ठीमा व्यसायिक निजी संवाद मञ्चको संरचना तथा अवधारणा बारे छलफल भएको थियो । व्यवसायिक वातावरण सुधार गर्नको लागि सबै व्यवसायिक संस्थाले साझा मागपत्र दिने समेत निर्णय भएको छ ।
कार्यक्रममा बुटवल उवासंघका अध्यक्ष हरिप्रसाद अर्यालले फरक फरक व्यवसायिक संस्थाका एजेण्डा मिल्न सक्छन् र मिल्ने एजेण्डामा सामुहिक पैरवी गर्दा त्यो प्रभावकारी पनि हुन सक्ने बताउँदै मिल्ने एजेण्डामा सामुहिक पैरवी आवश्यक रहेको बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्की, रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघकी प्रमुख कार्यकारी अधिकृत कमला बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई, रुपन्देहीकी सचिव पूर्णिमा अधिकारी, सैनामैना उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रविन गौतमले आफ्ना आफ्ना संघले गरेका पैरवीले पारेका प्रभावको बारेमा जानकारी गराउँदै सामुहिक पैरवीले अझै राम्रो गर्न सकिने बताए ।
यी व्यवसायिक संघसंस्थाहरुले विशेष गरेर व्यवसायिक प्रवद्र्धन, व्यवसायीलाई संरक्षण, उनीहरुको हकहित, नीतिगत रुपमा पैरवी तथा सामाजिक कृयाकलाप समेत गर्दै आएका छन् । तथ्यमा आधारित भएर सामुहिक रुपमा गरिने पैरवीले परिणाम पनि प्राप्त हुने एकाउन्टिविलिटी ल्यावका राजु शर्माले बताए । उनका अनुसार तथ्यका आधारमा गरिने पैरवीमा तथ्य प्रमाण, अनुसन्धान र विश्लेषणको समेत प्रयोग हुने भएकाले त्यसलाई नकार्न सकिँदैन ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, सचिव प्रतिक पोखरेललगायतले व्यवसायिक संघसंस्थाहरुमा हुने बहस, छलफल तथा पैरवी कर घटाउनेमा मात्रै केन्द्रित हुन थालेको औंल्याउँदै बहस, छलफल तथा पैरवीलाई व्यापार बढाउनेमा केन्द्रित गर्नुपर्नेे बताए ।