२०८१ श्रावण १२

लुम्विनीमा महराले पाए विश्वासको मत
  • लुम्बिनी खोज
  • २०८० चैत्र ३०, शुक्रबार १०:४६ गते

बुटवल ३० चैत ।
यही चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता जोखबहादुर महराले आज प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत प्राप्त गरेका छन् । सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा हाल कायम सदस्यहरुको संख्या ८६ रहेकोमा विश्वासको मतको पक्षमा ४८ र विपक्षमा २८ मत परेको जानाकारी गराए । उनले मुख्यमन्त्रीले प्राप्त गरेको मत बहुमत रहेकाले मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मत सम्पन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।
यस अघि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग्दै प्रदेशको विकासमा प्रतिपक्षलाई पनि साथ लिएर सबैको सुझाव र सल्लाहबाट अगाडी बढ्ने बताएका थिए । विश्वासको मत माथिको छलफल पछि मतदान प्रक्रिया अगाडी बढाइएको थियो ।
यहा गत शुक्रवार चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएपछि गत आइतवार चैत २५ गते सपथ सगै तीन दलका तीन जनालाई विना विभागिय मन्त्री नियुक्त गरेका थिए । महराले आज विश्वासको मत पाएपछि अब केहीदिन भित्रैमा मन्त्रीपरिषदलाई पूर्णता दिने तयारीमा छन् । यहा महराले एमालेका चेतनारायण आचार्य, माओवादीका दीपेन्द्रकुमार पुन मगर र जसपाका भण्डारीलाल अहिरलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार बैशाख २ गते संसदीय समितिका सभापतिहरुको टुंगो लगाउने र बैशाख ३ गते मन्त्रीपरिषदलाई पूर्णता दिने गरी तयारी भएको बताएका छन् । प्रदेश सभाका संसदीय समितिहरु नया निर्वाचनपछि एक वर्ष भन्दा पनि बढी समयदेखि नेतृत्व विहिन अवस्थामा छन् । यहा ६ वटा समिति रहेका छन् । नया गठबन्धनले ६ वटा मध्ये २ वटा समितिको नेतृत्व काग्रेसलाई दिने गरी तयारी गरेको छ । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले लेखा र कृषि समिति कांग्रेसलाई दिने तयारी भएको बताए । अन्य समितिको सभापतिहरुका बारेमा गठबन्धनको छलफलबाट टुंगो लगाइने छ ।
लुम्विनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य (सांसद)हरुले २०७९ पुस १७ गते सपथ लिएका थिए । यहा दोश्रो प्रदेश सभाको पहिलो अधिबेशन २०७९ पुस १८ मा शुरु भएको थियो । यहा माघ ३ मा सभामुख तथा उपसभामुख चयन भएका थिए । लुम्विनीमा पहिलो अधिबेशनको समयमा समिति बन्न नसकेको अवस्थामा दोश्रो अधिबेशनमा समिति गठन भए । तर तीनले अझै नेतृत्व पाएका छैनन् ।
यहा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समिति रहने प्रावधान रहेको छ । लुम्विनी प्रदेश सभामा ८७ जना सदस्य (सांसद) रहेकोमा एक जना निलम्वनमा परेका छन् । यहा १० वटा दलले प्रदेश सभामा प्रतिनिधित्व गर्छन ।
माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले मन्त्रालय तथा मन्त्रीहरुका बारेमा दलहरु तथा दल भित्र छलफल पछि टुंगो लाग्ने बताएका छन् । सरकारका प्रवक्ता दीपेन्द्रकुमार पुन मगरले गठबन्धनमा सामेल दलहरु तथा सांसद मध्ये कसले कति र कुन मन्त्रालय लिने भन्ने विषय छलफलमै रहेको बताएका छन् । माओवादी केन्द्रले मुख्यमन्त्री बाहेक २, एमालेले ५, जसपाले २, स्वतन्त्रले १ मन्त्रालय लिने भन्नेमा छलफल भएको बताए । त्यस्तै नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका बारेमा पनि छलफल जारी रहेको उनले बताए । नाउपालाई एक मन्त्रालय दिने भन्नेमा छलफल भएको तर उसले २ मन्त्रालय माग गरेको उनले बताए । त्यस्तै एकीकृत समाजवादीलाई मन्त्रालय दिने भन्ने विषय छलफलमै रहेको उनले बताए । मन्त्रालयको संख्या नबढ्ने गरी मन्त्रीपरिषदलाई पूर्णता दिने गृहकार्य भइरहेको पुनको भनाइ छ ।
केन्द्रीय सत्ता समीकरण फेरबदल भएपछि अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते राजीनामा दिएका थिए . चौधरीको राजिनामापछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यहां एक सिट भएको नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा सहमति भएको थियो ।