८ जेष्ठ २०८१, मंगलवार

दाङमा आगलागीबाट २४ घर गोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति
  • लुम्बिनी खोज
  • १७ बैशाख २०८१, सोमबार १७:३३

बुटवल, १७ बैशाख ।
दाङमा आगलागीबाट ८७ लाख बढीको क्षति भएको छ । जिल्लाको राजपुर गाउँपालिका–७ हाडबासमा आइतबार दिउँसो भएको आगलागीबाट करिब २४ बढी घरगोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति भएको हो ।
आगलागीका कारण हाडबासमा २४ घरगोठसँगै पसल, चार वटा बाख्रा जलेर नष्ट हुँदा ८७ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार बस्ती नजिकै रहेको गाईघाट सामुदायिक वनमा लागेको राप्ती नदीको बगरमा रहेको खरकट्टी हुँदै बस्तीमा पस्दा २४ घरगोठ जलेका थिए ।
आगलागीका कारण हाडबासमा टिनले छाएका केही घरको छानो जोगिए पनि बाँकी खरका छानो भएका घरगोठ जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
बस्तीमा जानका लागि मोटर बाटो पनि नभएका कारण दमकल पुग्न नसकेका कारण पनि ठुलो मात्रामा क्षति हुन पुगेको हो । आगो नियन्त्रणका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रणमा लिन नसकेको स्थानीयले बताएका छन । आगलागीबाट विस्थापित परिवारलाई गाउँपालिका, मानव कल्याणलगायतका संघसस्थाबाट प्राप्त टेण्टलगायतका कपडा वितरण गरेर बसाल्ने काम गरिएको छ ।