२०८१ श्रावण १२

बुटवल उवासंघका कर्मचारीलाई तालिम
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २५, शुक्रबार ०८:५७ गते

बुटवल २५ जेठ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा कार्यरत कर्मचारिका लागि व्यवसाय विकास सेवा सम्बन्धि तालिम शुरु गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिममा व्यवसाय विकास सेवासंग सम्बन्धित काम गर्ने कर्मचारीलाई सम्बन्धित विषयमा तालिम दिन लागिएको हो । तालिम शनिबार सकिनेछ ।
बुटवल उद्योग वाणिज्य संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्ने गरी आध्यान्तले सञ्चालन गरेको युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम लागु गरिएको छ । सोही कार्यक्रम अन्तरगत पहिलो चरणमा कर्मचारीलाई तालिम दिन शुरु गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराए ।
‘रुप अफ द वल्र्ड’ परियोजना अन्तरगत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्नको लागि साना तथा मझौला उद्योग व्यवसायीलाई आवश्यक व्यवसायिक सेवा प्रदान गरिने छ । यो कार्यक्रम अन्तरगत सम्भावना भएका उद्योगहरुमा शेयर पुँजी समेत प्रदान गरिने छ । त्यसको लागि संघको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्ने छ ।
सोही कार्यक्रम अन्तरगत कर्मचारीको क्षमता विकासको लागि तालिम आयोजना गरिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । उनले संघका कर्मचारीमा भएको अन्तरनिहित क्षमतालाई बढी भन्दा बढी उपयोग कसरी गर्न सकिन्छ र संघले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई प्रदान गर्ने सेवा सुविधा अझै बढी गुणस्तरीय बनाउनको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योग अर्थतन्त्रको बलियो जग भएको बताउँदै औद्योगिक विकासका लागि औद्योगिक वातावरण संगै उत्पादनको ब्राण्डिङमा जोड दिनुपर्ने बताए । उनले औद्योगिक वातावरण निर्माण र उत्पादित बस्तुको ब्राण्डिङलाई समेत ध्यान दिएर उद्योगी व्यवसायीलाई कसरी परामर्श गर्ने भन्ने विषयमा राम्रो ज्ञान हासिल गर्न कर्मचारीहरुलाई आग्रह गरे ।
त्यस अवसरमा रुफ अफ द वल्र्ड परियोजनाका सल्लाहकार निरज खनालले विशेष गरेर उद्योगीहरुले बजार पाईएन भन्ने गरेको औंल्याउँदै बजार पाईएन भन्दा पनि बजार पाउन के गर्नुपर्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए । त्यसैको लागि यस क्षेत्रका उद्योगीहरुको आवश्यकतालाई ध्यान दिएर संघमा रुप अफ द वल्र्ड कार्यक्रम सञ्चालन गरिएको बताउँदै यसबाट अधिकतम लाभ लिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले मिस प्रोडक्टलाई कसरी फाईन प्रोडक्ट गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन पनि आग्रह गरे ।
दई दिने तालिममा प्रशिक्षक रुफ अफ द वल्र्ड परियोजनाका सल्लाहकार निरज खनाल, आध्यान्त म्यानेजमेन्ट फण्डका निश्चलसिंह भण्डारी, प्रशिक्षक दिलिप गुरुङ, सहजकर्ता विजेशराज कर्णिकारले प्रशिक्षण गर्ने छन् ।