२०८१ भाद्र २३

कसरी चम्किए कालिका, नवीन, कान्ति र शान्ति ? अन्य विद्यालय पनि बन्न सक्छन् त अब्बल ?
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३०, बुधबार ०९:५३ गते

अन्य विद्यालय पनि बन्न सक्छन् त अब्बल ?
विष्णु घिमिरे
केही वर्ष अगाडी सम्म नीजि तर्फका प्रतिष्ठित शैक्षिक सस्थामा विद्यार्थी भर्ना गराउन निकै गाह्रो थियो । शुल्क अत्याधिक बढी भए पनि ती शिक्षण सस्था धेरैको रोजाईमा थिए । तर अहिले सामुदायिक तर्फका केही विद्यालयहरुले तीनै नीजि क्षेत्रका प्रतिष्ठित शैक्षिक सस्थालाई टक्कर दिने तहमा पुगेका छन् । यसरी टक्कर दिने स्थानमा ल्याउन त्यहाका प्रधानाध्यापकको कुशल नेतृत्वले महत्वपूर्ण भुमिका खेलेको छ । प्रधानाध्यापकको कुशल नेतृत्व र मिहिनेत, विद्यालय ब्यवस्थापन समितिको मिहिनेतपूर्ण नेतृत्वदायी भुमिका देखि शिक्षकहरुको विशेष मिहिनेत तथा आम अभिभावकले खेलेको भुमिकाले विद्यालयमा आमुल परिवर्तन ल्याएको हो ।
त्यही आमुल परिवर्तनको परिणाम नीजि क्षेत्रबाट सञ्चालित प्रतिष्ठित विद्यालयलाई निरन्तर टक्कर दिने स्थीतिमा अहिले केही सामुदायिक विद्यालय पुगेका छन् । जसका कारण यहाका सामुदायिक विद्यालय तर्फका नमुना मानिएका विद्यालयहरुमा पछिल्ला केही वर्ष यता सयौ विद्यार्थीहरुले चाहेर पनि भर्ना पाउन छाडेका छन् । विद्यार्थी आर्कषण बढ्दो हुदा यहाका नमुना मानिएका सामुदायिक विद्यालयहरुमा भर्नाका लागि आएका सयौ विद्यार्थी फर्किनु पर्ने अवस्था रोक्नु अहिलेको चुनौती बनेको छ । विद्यालयले थेग्न सक्ने भन्दा बढी विद्यार्थी आएपछि धेरै विद्यार्थी फर्काउनु परेको विद्यालयहरुले जनाएका छन् ।
रुपन्देहीका कालिका मानवज्ञान मावि, नवीन औद्योगिक कदरवहादुर रिता मावि, कान्ति मावि तथा शान्ति नमुना माविमा विद्यार्थी चाप ह्वात्तै बढेपछि धेरै विद्यार्थीहरुकोे छनौट यी विद्यालय पर्ने गरेपनि धेरैले भर्ना पाउन सकिरहेका छैनन् । सामुदायिक तर्फका केही विद्यालयमा विद्यार्थी चाप ह्वात्तै बढेपनि सामुदायिक तर्फका धेरै विद्यालयहरुमा विद्यार्थी संख्या निकै कम छ । भौतिक संरचना, खेल मैदानसहित गुणस्तरीय शिक्षाका लागि राम्रो वातावरण बन्न सक्ने देखिएका विद्यालयहरुले विद्यार्थी आक्रषित गर्न सकेका छैनन् । गरे के हुदैन् भन्ने राम्रो उदाहरण दिइरहेका विद्यालयहरुले कसरी सुधार ल्याए भन्ने तथ्यमा टेकेर अगाडी बढे अन्यमा सुधार ल्याउन सकिन्छ । कालिका माविले मानवज्ञान माविलाई गाभेर त्यहाको शिक्षामा ल्याएको आमुल परिवर्तन यसको उदाहरण हो ।
नेपालकै नमुना र ठूलो विद्यालयका रुपमा कहलिएको बुटवलको कालिका मानवज्ञान माविले अर्को एक विद्यालयमा ल्याएको सुधारलाई अन्य विद्यालयहरुमा पनि लागु गरेमा परिणाम सकरात्मक ल्याउन सकिन्छ । बुटवलकै नविन औद्योगिक कदरवहादुर रिता मावि र कान्ति मावि पनि सामुदायिक तर्फका बुटवलका अग्रणी शिक्षण सस्थाका रुपमा रहेका छन । त्यस्तै रुपन्देही मणिग्रामको शान्ति नमुना मावि पनि अग्रणी मध्येमा पर्दछ । सामुदायिक तर्फ नेपालमा धेरै विद्यार्थी रहेका ५ वटा विद्यालय मध्येमा यी ४ वटा विद्यालय पर्दछन् । नेपालका अग्रेजी भाषा, शिक्षण पद्धतीमा सुधार तथा शैक्षिक वातावरणमा पनि सुधार ल्याएपछि यी सामुदायिक विद्यालयमा नीजि क्षेत्रका प्रतिष्ठित वोर्डिङ स्कूलमा अध्यानरत विद्यार्थी समेत भर्नाका लागि धाउने गर्छन । यहा उत्कृष्ट तथा गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने र कसले बढी योगदान दिने भन्नेमा यी विद्यालयहरुवीच प्रतिस्पर्धा छ ।
नया शैक्षिक सत्रमा भर्नाका लागि कालिकामा एक हजार ३ सय भन्दा पनि बढी, शान्ति नमुनामा एक हजार ३ सय ५०, नविनमा एक हजार ५ सय ५१ तथा कान्तिमा पनि ठूलो संख्यामा विद्यार्थीहरु भर्नाका लागि पुगेका थिए । तर विद्यालयको क्षमताले थेग्न सक्ने विद्यार्थी मात्र भर्ना गर्दा कालिकामा ५ सय ५०, नवीनमा ५८८, कान्तिमा ६ सय ५०, र शान्ति नमुनामा ६५० जना विद्यार्थीले मात्रै भर्ना पाएका छन् ।
कालिकामा ८ हजार विद्यार्थी
नेपालकै नमुना तथा विद्यार्थी संख्यामा पनि ठूलो विद्यालय अन्तरगत पर्ने बुटवलको कालिका मानवज्ञान माविमा ८ हजार ५३ जना विद्यार्थी अध्यानरत रहेका छन । ३ सय ४० शिक्षक कर्मचारी रहेका छन् जसमा सरकारी दरवन्दीका जम्मा ६५ जना रहेका छन् । यस विद्यालय केही वर्ष अगाडी २ वटा विद्यालय एक आपसमा मर्ज भएका थिए । दुई स्थानमा रहेका भवनहरुमा पढाइ हुने हुदा यस विद्यालयले धेरै विद्यार्थीलाई भर्ना गर्न सकेको हो । शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएपछि कालिकामा विद्यार्थी चाप ह्वात्तै बढेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापा गुणस्तरीय तथा सर्वसुलभ शिक्षा प्रदान गरिएको र दैनिक अतिरिक्त क्रियाकलापमा उत्तिकै जोड दिएकाले विद्यालयमा विद्यार्थीको आक्रषण बढ्दो रहेको बताउछन् । कालिकाले विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिएको छ, त्यसैले धेरेको रोजाइमा परेको छ, –प्रअ थापा भन्छन् । यस विद्यालयमा करिब ७० जिल्लाका विद्यार्थी अध्यानरत छन । विभिन्न जिल्लाबाट बुटवलमा बसोवास गर्नेहरुको रोजाईमा पर्दा यहा करिब ७० जिल्लाका बालबालिका अध्यानरत गर्दै आएका छन ।
विगतमा पटक पटक पुरस्कार प्राप्त गर्न सफल सामुदायीक विद्यालयहरु मध्ये मुलुककै ठूलो र उत्कृष्ट सामुदायिक विद्यालय मध्येको एक कालिका मावि केही वर्ष अगाडी मात्रै मानव ज्ञान माविसग मर्ज भएको थियो ।
नवीन यसरी बन्यो अब्बल
नविन औद्योगिक कदरवहादुर रिता मावि लुम्बिनी प्रदेशको नमुना विद्यालयका रुपमा रहेको छ । यहा करिब ४ हजार ८ सय विद्यार्थी अध्यानरत छन । यहा यस वर्ष ५ सय ८८ विद्यार्थी भर्ना गरिएको छ । तर यहा १५ सय ५१ जना विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षमा सहभागि भएका थिए । भर्नाको लागि आवेदन दिने समय सकिएपछि पनि दैनिक नया विद्यार्थी भर्नाका लागि यहा विद्यार्थीहरु आउने गरेका छन् । विद्यालयमा भर्नाको चाप धेरै रहेको प्रधानाध्यापक प्रेमवहादुर वस्नेत बताउछन । भर्नाको लागि विभिन्न क्षेत्रका ब्यक्तिहरुको दवाव आउने गरेका कारण फोन नै उठाउने अवस्था नरहेको प्रधानाध्यापक वस्नेतको भनाई छ । यहा १ सय ७५ जना शिक्षक तथा कर्मचारी रहेकोमा सरकारी दरवन्दीका जम्मा ४१ जना रहेका छन् । विद्यालयकोृ आर्थिक दायित्व सरकारी तहबाट जम्मा ३१ प्रतिशत पुर्ति हुन्छ, वाकी ६९ प्तिशत सामुदायीक तर्फबाट ब्यवस्थापन गरेको प्अ बस्नेतले बताए । असर अभ्यासका साथ ब्यवहारीक तथा नेतृत्व विकास गर्ने गरी गुणस्तरीय शिक्षामा जोड दिएका कारण विद्यार्थीको रोजाइमा विद्यालय परेको प्रअ बस्नेतको भनाइ छ ।
नवीनमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन २०६० सालदेखि अग्रेजी माध्यममा पठन पाठन शुरु गरिएको थियो । नर्सरीबाट नै विद्यार्थी भर्ना गरेर शिक्षामा अब्बल बनाउन कस्सिएका यहाका शिक्षकहरु मिहिनेत पछि सफल भएको अनुभव राख्छन ।
नवीनमा ०६४ साल यताका नतिजा उत्कृष्ट रहदै आएको छ । नविनका प्रधानाध्यापक प्रेमवहादुर वस्नेत विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अगुवाई गरि रहेको भन्दै यहाका उत्कृष्ट विद्यार्थीहरुले थप शिक्षाका लागि विभिन्न क्षेत्रमा पूर्ण छात्रवृद्धिमा नाम निकाल्न सफल रहदै आएको बताउछन । नविनमा कक्षा ९ देखि १२ कक्षा सम्म इन्जिनियरिङ पढाइ हुन्छ । २०७८ साल कक्षा १२ को वोर्ड परीक्षामा सिभिल इन्जिनियरिङ, विज्ञान र व्यवस्थापन समुहबाट बुटवल उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा सर्वोत्कृष्ट भएर २ लाख पुरस्कार प्राप्त गरेको थियो ।
विद्यालयले व्रिटिश काउन्सिलद्वारा इन्टरनेशनल स्कूल अर्वार्ड २०१७–२०२० र २०२१–२०२४ प्राप्त गर्नुका साथै अंग्रेजी पत्रिका कलेज रिडर्सद्वारा दुबईमा उत्कृष्ट सामुदायिक विद्यालय २०२२ बाट सम्मानित भएको थियो । विद्यालयमा मन्टेश्वरी देखि १० सम्म पूर्ण अंग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान,व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्यापन हुदै आएको छ ।
कान्तिमा पनि उस्तै छ चाप
अब्बल विद्यालय मध्येको बुटवलको कान्ति माविमा यस पटक भर्नाका लागि धेरै विद्यार्थी आएपनि जम्मा ६ सय ५० विद्यार्थीले अवसर पाएका छन् । यहा ५ हजार ५ सय ५५ जना विद्यार्थी नबढ्ने गरी भर्ना गरिएको प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए ।
कान्ति विद्यालयमा विद्यार्थीको आर्कषण बढ्नुमा तालिम तथा अनुभव प्राप्त जनशक्तिको मिहिनेतलाई मुख्य कारण देख्छन यहाका शिक्षकहरु । बाहिरी देखावट देखि भित्रि गुणस्तरमा विद्यालय अब्बल बनेपछि विद्यार्थीको चाप बढ्दो रहेको प्रअ ज्ञवालीको भनाइ छ । अझ यस पटक विद्यालयले कक्षा ६ बाट सस्कृतको पनि पढाइ शुरु गरेको छ । यसले सस्कृत पढ्न चाहनेहरुको पनि रोजाइमा विद्यालय परेको उनले बताए । यहा शिक्षक कर्मचारीको संख्या २ सय २० रहेकोमा सरकारी दरवन्दीका जम्मा २६ जना शिक्षक रहेका छन् ।
शान्ति नमुनामा ६५ सय विद्यार्थी
बुटवल र भैरहवाको बीच भाग मणिग्राममा रहेको शान्ति नमुना मावि नेपालका नमुना विद्यालय मध्येमा पर्दछ । शिक्षामा सुधार गर्ने भन्दै ०६७ साल देखि यहा शिक्षक अभिभावक लागि परेका हुन । यहा यस वर्ष ६ हजार ५ सय विद्यार्थी भर्ना गर्ने लक्ष्य राखिएको छ । यस वर्ष भर्नाका लागि यहा १ हजार ५ सय ५० जना आए पनि ६ सय ५० जनाले भर्ना हुने मोका पाएका छन । यहा कक्षा ११ मा नया भर्ना हुदाका विद्यार्थीसहित ६ हजार ५ सय विद्यार्थी नबढ्ने गरी नया भर्ना लिइएको हो । यहा शिक्षक कर्मचारी गरेर २ सय २५ जना रहेकोमा सरकारी दरवन्दीका जम्मा ३४ जना रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने अनुशासन, अतिरिक्त क्रियाकलापमा जोड दिदै सिकाई रामे गरेका कारण विद्यार्थीको रोजाइमा विद्यालय परेको बताउछन् । अभिभावकको चासो बढाउछौं, जसले गर्दा गुणस्तरीय शिक्षाको विकासमा अभिभावकको सहभागिता हुन्छ र बच्चाहरुलाई जागरुप गराएर बालमैत्री वातावरणमा शिक्षा दिन्छौं, यसले गुणस्तरीय शिक्षाको विकासमा योगदान गरेको छ, उनले भने ।
अभिभावकका गुनासाहरु सम्वोधन गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी पठनपाठनमा ध्यान दिनुको परिणाम शिक्षामा सुधार भएको ठम्माई लामिछानेको छ ।
यसरी सुधार गरौं अन्य सामुदायीक विद्यालय
माथि उल्लेख भएका रुपन्देहीका यी अब्बल विद्यालयले मुलुकभर नाम कमाएका छन् । उनीहरु यो स्थानमा आउन ती विद्यालयको नेतृत्वमा रहेकाहरुको धेरै मिहिनेत रहेको छ । यी अब्बल विद्यालयको सिको गर्ने हो भने अन्य विद्यालयहरुमा सुधार ल्याउन सकिन्छ । त्यसका लागि नेतृत्वमा रहनेहरुको दृढ संकल्प जरुरी छ । उनीहरुको इच्छाशक्ति भएमा संभव छ भन्ने उदाहरणका रुपमा यी विद्यालयहरु रहेका छन् । अर्को तर्फ विद्यालय तहको शिक्षामा सुधारका लागि स्थानिय सरकारको पनि महत्वपूर्ण भुमिका हुन्छ । प्रधानाध्यापक, ब्यवस्थापन समितिको अध्यक्ष र स्थानिय सरकारको प्रमुखसहितको टिम लागि परेमा स्थानिय तहबाटै शिक्षामा सुधार ल्याउन सकिन्छ ।
विद्यालयहरुमा सुधार ल्याउन अहिले चलिरहेका विद्यालयहरुलाई आफै सुधार गर्नका लागि अभिप्रेरित गर्नु आवश्यक छ । उनीहरुलाई सुधारका लागि आवश्यक सहयोग स्थानिय सरकारले गर्नुपर्दछ । यती गर्दा अग्रसर हुदैनन् भने अर्को विकल्पमा पनि जानु जरुरी छ । त्यो विकल्प हो कालिकाले मानव ज्ञानलाई लिएर सुधार गरे जस्तै अवधारणामा अगाडी बढ्दा पनि हुन्छ । किनकी कालिकाले मानवज्ञानलाई हात लिएपछि त्यहाको शैक्षिक गुणस्तरमा ह्वात्तै सुधार भएको तथ्य हाम्रा सामु छ ।
कालिकाको लामो समय नेतृत्व गरेर कालिकालाई माथि उठाउन महत्वपूर्ण योगदान पु¥याएका हालका कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक अब्बल विद्यालयहरुलाई अर्को विद्यालय सुधारको जिम्मा दिदा संभव भएको तथ्य बेला बेला राख्ने पनि गर्छन् । अब्बल कहलिएका विद्यालयमा भौतिक संरचना को कमी रहेको अबस्थामा अन्य विद्यालयमा भौतिक संरचना धेरै तर विद्यार्थी संख्या कम रहेको छ । यस्ता विद्यालय सुधारका लागि ती अब्बल विद्यालयलाई थप एक एक वटा सुधारका लागि सुम्पिदा परिणम राम्रै आउन सक्छ । तसर्थ नजिकका भौतिक संरचना तथा जग्गा धेरै रहेका विद्यालयसग मर्जर गर्दा (गाभिदिदा) थप एक एक वटा विद्यालयमा सुधार ल्याउन सकिने तर्फ ध्यान पु¥याउनु जरुरी छ ।

                                                                                                                                                                                                                         [email protected]