२०८१ आश्विन १

हमासका प्रमुख नेता इस्माइल हानियाको इजरेली कारबाहीमा मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १६, बुधबार ०६:१० गते

बुटवल १६ साउन ।
हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ।
हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए।
हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। बीबीसीका अनुसार हानियाको मृत्युको खबर लेबननमा इजरेली आक्रमणमा हिज्बुल्लाहका एक वरिष्ठ सैन्य नेता मारिएको केही घण्टाभित्रै आएको हो।
हानियाका एक अङ्गरक्षकको पनि उक्त घटनामा मृत्यु भएको इरानको रेभलूशनरी गार्ड कोरले जनाएको छ।
समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त घटना कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ। हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए। उक्त समारोह मङ्गलवार भएको थियो।
हानियालाई लक्ष्य गरेर भएको घातक आक्रमणबारे इजरेलले आधिकारिक टिप्पणी गरिसकेको छैन। गत वर्ष अक्टोबर ७ मा १,२०० जनाजतिको मृत्यु हुने गरी हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोष गरेको थियो।
यद्यपि एक इजरेली मन्त्रीले सामाजिक सञ्जाल एक्स मा लेख्दै हानियाको मृत्युका कारण विश्व राम्रो ठाउँ बन्ने जनाएका छन्। संसारबाट फोहोर हटाउने यो उपयुक्त तरिका हो,एमिचे एलियाहूले लेखेका छन्। उनले अरू काल्पनिक शान्ति वा आत्मसमर्पण सम्झौता र यी शत्रुहरूमाथि अरू दया गर्नु नहुने तर्क गरेका छन्।
हानियाले मङ्गलवार इरानका राष्ट्रपति पेजेश्कियान र इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईसँग भेटेका थिए ।
इस्माइल हानिया को हुन्
उनको अर्को नाम अबु अल अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो। उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए। इजरेल –गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए।
सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो। सन् १९९२ मा उनलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको नो म्यान्स् ल्यान्ड को रूपमा रहेको मार्ज अल जुहुरमा निर्वासनमा पठाइयो।
आफ्नो निर्वासन पूरा गरेपछि उनी गाजा फर्किएका थिए। सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो। हमासले उनलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो।
तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई पदमुक्त गरेका थिए।
हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे। उनले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताएका थिए।
त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपील पनि गरेका थिए। सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका थिए। उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो।