२०८१ आश्विन ५

विशेष मौसम बुलेटिन जारी, मनसुनी रेखा नेपाल नजिक सर्ने संभावना, लुम्बिनीका १० सहित ३४ जिल्ला उच्च जोखिममा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार ०६:४२ गते

काठमाडौं २१ साउन।
हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गरेको छ ।
मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यसबाट अति प्रभावित हुने सम्भावना रहेका लुम्बिनी प्रदेशका १० सहित ३४ जिल्लालाई उच्च जोखिममा राखेको छ ।
लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची जिल्लालाई उच्च जोखिममा राखेको छ । त्यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला उच्च जोखिममा राखिएका छन् ।
यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि खतराको सूचिमा छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि उच्च जोखिममा राखिएको छ ।
मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 

 

 

यस्तो छ विशेष बुलेटिन

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 मनसुन  विशेष मौसम बुलेटिन – ६  Monsoon Special Weather Bulletin – 6)

(जारी मिति ː २०८१/०४/ २१ बिहान ११ :०० बजे)

 

हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८१-०४-२२ गते देखि मिति २०८१-०४-२३ गते सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताको लागि आज यस विशेष बुलेटिन जारी गरिएको छ।

मिति २०८१-०४-२२ गतेदेखि मिति २०८१-०४-२३ गते सम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र  सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । जिल्लागत मनसुनी वर्षाको जोखिमको विवरण अनुसूची १ मा समावेश गरिएको छ।

तसर्थ, मिति २०८१-०४-२२ गतेदेखि मिति २०८१-०४-२३ गते सम्म भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन अनुरोध छ ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौं

फोन: ११५५

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather