२०८१ आश्विन १

कार्यसम्पादन मूल्याकंनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही मुलुकमै उत्कृष्ट
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २४, बिहीबार ०९:४६ गते

बुटवल, २४ साउन ।
गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याकंनमा जिल्ला प्रशासन कार्यालय, रुपन्देही मुलुकमै उत्कृष्ट भएको छ । नागरिकलाई सहज र सरलीकृत सेवाप्रवाहसँगै मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेपछि प्रशासनलाई मुलुककै उत्कृष्ट छनोट गरिएको हो ।

गृह मन्त्रालयले तोकेको मापदण्डअनुसारको काम सहज तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा रुपन्देही प्रशासन पहिलो बनेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा मुलुकका ७७ जिल्लाहरुमा सबैभन्दा बढी ९८ अंक पाएर जिल्ला प्रशासन कार्यालय, रुपन्देही पहिलो भएको छ ।

९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ । ९७.६२५ अंकसहित बागलुङ तेस्रो भएको छ । चौथो स्थानमा रहेको पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले ९७.५ र पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७५ अंक ल्याएका छन् ।

पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्यांकनमा छैटौँमा गुल्मी प्रशासन छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेल्धुराले क्रमशः ९६.८, ९६.७, ९६.५ र ९६.४ अंक ल्याएका छन् ।

सेवाग्राहीलाई सरल, सहज र छिटोछरितो सेवा प्रवाह गराउनेदेखि मृत्युको मुखमा पुगेका एक नेपाली नागरिकलाई विदेशी भूमिमा जीवनदान दिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खेलेको भूमिका लगायतका कारण जिल्ला प्रशासन कार्यालय, रुपन्देही कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट बनेको हो ।
यस्तै, जिल्ला प्रशासनकै पहलमा पहिलोपटक नेपाल–भारत सीमानाका बेलहिया र कालीदहमा वाक थु्र मेसिन राखिएको छ भने पर्यटकको सुविधाका लागि एकीकृत जाँच विन्दु स्थापना गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पर्ने जग्गा व्यक्तिको नाममा गराएर मुआब्जा लिने प्रयास रोकिनुका साथै ब्यक्तिका नाममा गएको सिद्धार्थनगरमा रहेको मसानघाटको जग्गा बदर गर्ने , साथै, नदी दोहन रोक्न ‘क्विक रेस्पोन्स टिम’ निर्माण गरि नियमविपरीत नदी उत्खननमा संलग्न कारबाहीको दायरामा ल्याएको छ । हरेक वर्ष साउनमा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता हुन्छ । यसैका आधारमा उत्कृष्टता छनोट गर्ने गरिन्छ ।