२०८१ आश्विन १

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामको काम शुरु
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ९, आईतवार १३:०७ गते

बुटवल ९ भदौ ।
बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ।
गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने र अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो।
चालु आर्थिक वर्षभरिमा के कस्ता काम गरेर पहिरोलाई रोक्न सकिन्छ भन्नेबारेमा प्राविधिकसहितको टोलीले आइतबार बिहान अनुगमन गरेको हो।
चालु आर्थिक वर्षमा आवश्यक स्थानमा ग्याबिन जाली लगाउने, खोल्साहरु सफा गर्ने, पानीको बहावलाई व्यवस्थित गर्ने जस्ता काम गर्ने गरी बजेट विनियोजन भएको र सोहीअनुसारको काम शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार पहिरोको जोखिम कम गर्न र स्थानीयलाई सुरक्षित बनाउनका लागि नगरको बजेटले थेग्ने सम्मका काम गरिरहेको छ।
ज्योतीनगर र लक्ष्मिनगर क्षेत्रमा २०७८ सालमा आएको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो। १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो। सोही अनुसारको क्षति हुन नदिनका लागि बुटवल उपमहानगरपालिकाले विशेष प्राथमिकताका साथ बस्ती सुरक्षाका लागि काम गरिरहेको प्रमुख पाण्डेयले बताए।
उनले नगरको बजेटले मात्रै ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथाम हुन नसक्ने भएकाले संघ र प्रदेश सरकारलाई पटक पटक अनुरोध गरेपनि उचित सम्बोधन हुन नसकेको गुनासो गरेका छन्।
पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरणका लागि संरचनाहरु निर्माण गरिएका थिए।
ती संरचनाकै कारण पहिरो रोकिएको जनप्रतिनिधि समेत रहेका स्थानीय अमृत खड्का बताउँछन्।
२०७८ भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिराका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो।
बुटवल उपमहानगरपालिकाका अनुसार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू–विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थिए।
अध्ययनपछि सो टोलीले तयार पारेको प्रतिवेदनमा ‘भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो भिरालो जमिन असन्तुलित हुनपुग्छ, श्रवन डाँडाको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय पनि सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नै हो’, भनिएको छ।