२०८१ आश्विन १

असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउने मन्त्री देवेन्द्र दाहालको प्रतिबद्धता
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १६, आईतवार ११:०० गते

बुटवल, १६ भदौ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुराना योजनाहरूको बक्यौता रकम भुक्तान गर्री असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउने प्रतिबद्धता गरेका छन । पुराना भुक्तानी गर्न बाँकी रहेका योजनाहरूको महिना दिनभित्रै समस्या हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउने प्रतिबद्धता गरेका हुन । प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले चारैतिर सुरु भएका आयोजना अलपत्र परेकाले सरकारले नयाँ योजनालाई अघि बढाउने भन्दा पनि पुराना योजनाहरूलाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताए ।
मन्त्री दाहालले राजश्व सङ्कलनमा कमी आएका कारण पुराना योजनाहरूको भुक्तानीमा केही समस्या भएको बताउँदै ती समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिबद्धता आएसँगै एक महिना दिनभित्रै समस्याको हल हुने उल्लेख गरे ।
बुटवलमा यस क्षेत्रका मुख्य आयोजनाहरूको कार्यप्रगतिबारे जानकारी लिएपछि मन्त्री दाहालले अबको सय दिनभित्रै सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रू हुने गरी काम भइरहेको बताए ।
निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्ने गरी तीव्रताका साथ काम गर्न आफूले आग्रह गरेको उनको भनाइ छ ।

यसैगरी बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै उहाँले निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोडिने बताए । निर्माण कम्पनीले विभिन्न समस्याहरू देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भएपनि उक्त समस्या सरकारका कारणले नभई स्वयम् निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताए ।