२०८१ मंसिर ८
बुटवल १३ असोज ।
लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावितको संख्या १०९ पुगेको छ । प्रदेश सरकारका अनुसार बाढी र पहिरो प्रभावित ती एक सय ९ जना व्यक्तिलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको छ । लुम्बिनी प्रदेश सरकारका अनुसार सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।
बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । यता मुख्यमन्त्रीको सचिवालयका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।
नवलपरासी वर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षती भएको छ । स्थानीय कोशबहादुर आले, हरीबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षती पुगेको छ । सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ ।
नारायणी नदीको पानीको वहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकहरुलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछी दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ ।
रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछी ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको छ । निस्दि–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछी तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै रैनादेवि छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछी ११ जना सदस्यहरुलाई आफन्तको घरमा सारिएको छ ।
माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछी ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछी ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ । रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछी तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । रीब्दीकोट–४ निवासी मिनप्रसादको घर अगाडी पहिरो खस्दा जोखिम बढेपछी चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउँ–१ निवास निरज सास्कोटीको घर पहिरोले पुरिएपछी चार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
गुल्मी छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षती पुगेपछी तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षती पुगेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत समुदायका नागरिक विचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गरेका थिए ।