२०८१ पुष १०
बुटवल २९ कात्तिक ।
सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग भैरहवामा आज तेस्रो दिन पनि बयान जारी छ।
लामिछानेसँग मंगलबार र बुधवार गरी साढे १२ घण्टासम्म बयान लिइएको थियो। पहिलो दिन मंगलवार ३ घण्टा ३५ मिनेट बयान लिइएकोमा बुधवार लगातार ९ घण्टा बयान लिइएको थियो।
आज बिहिवार बिहान साढे १० बजेबाट सुरु भएको बयान आजै सकिने सम्भावना छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालका अनुसार दिउँसो ३ बजेसम्ममा बयान सकिने सम्भावना छ। आज दिउँसो बयान सकिए आजै साँझ पोखरा पठाउने सम्भावना रहेको उनले बताइन्।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिबक्ता प्रेमराज पौडेलले बयान अन्तिम अवस्थामा पुगेको र नम्वरिङ गर्ने, रुजु गर्ने काम बाँकी रहेको बुधवार बताएका थिए। बिहिवार रुजु गर्ने कामपछि आवश्यकताअनुसार बयान हुने उनको भनाइ थियो।