२०८२ जेष्ठ ६
बुटवल २७ बैशाख ।
समाजको विकासमा क्याम्पस तथा विश्वविद्यालयको भुमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । दुई दिनसम्म रूपन्देहीको मणिग्राममा गरिएको कार्यक्रममा विज्ञहरूले विभिन्न विषयमा गहन छलफल गर्दै क्याम्पस तथा विश्वविद्यालयबाट प्राप्त हुने ज्ञान समाजको विकासमा उपयोगी हुने बताएका हुन् ।
राममणि बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित “इमर्जिङ् च्यालेञ्जेज इन नेपाल्स विजनेश इन्भाइरनमेण्ट” (नेपाली व्यवसायिक वातावरणमा उदीयमान चुनौतीहरू) विषयक दुई दिने राष्ट्रिय गोष्ठीका अवसरमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूले ब्यवसायीक वातावरणका बारेमा छलफल गरे ।
गोष्ठीमा नेपाली व्यवसायिक क्षेत्रका द्वन्द्वात्मक अवस्था, जोखिमका अवस्था, वैदेशिक रोजगारीले ल्याएका अवसर तथा चुनौती, विप्रेषणका प्रभावहरू, द्वन्द्व व्यवस्थापनको लागि परम्परागत अभ्यास साथै जोखिम व्यवस्थापनका लागि विमाको महत्व लगायत विषयमा प्राज्ञिक बहस भएको छ ।
विभिन्न क्याम्पसका प्राध्यापकहरु सहभागि गोष्ठिको आयोजना राममणि क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले आयोजना गरेको उपप्राध्यापक मुक्तिनाथ गैह्रेले बताए । उनका अनुसार गोष्ठीमा ६ जना विज्ञहरूले अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापकहरू संलग्न गोष्ठीको पहिलो दिन प्रा.डा. बाबुराम ज्ञवालीले कौटिल्यको अर्थशास्त्रमा द्वन्द्व व्यवस्थापनका व्याख्याबारे अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै पोखरा विश्वविद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरेले नेपाली संस्थाहरूमा जोखिम व्यवस्थापन सम्बन्धी अभ्यासहरूबारे, राममणि बहुमुखी क्याम्पसका प्राध्यापक डा. अशोक भण्डारीले द्वन्द्वसम्बन्धी अध्ययन र नेपाली संस्थाहरूमा त्यसको समसामयिक अवस्थाबारे र क्याम्पसका उपप्राध्यापक कृष्णकुमार रेग्मीले वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूको पेशागत जोखिमबारे अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत अनुसन्धान कार्यपत्रहरूमाथि विभिन्न प्राध्यापकहरूले जिज्ञासा राख्दै गहन छलफलमा सहभागी भएका थिए । गोष्ठीको दोस्रो दिन शनिबार प्रा.डा. गणेशप्रसाद पाठकले संघ संस्थाहरूमा द्वन्द्व विषयमा र सहप्राध्यापक डा. रेशम थापाले नेपाली अर्थतन्त्रमा विप्रेषण सम्बन्धी जोखिम व्यवस्थापन विषयमा अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए ।
समापन सत्रमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले थप अनुसन्धनात्मक कार्यक्रम आयोजना गर्न क्याम्पस उत्साहित भएको बताए । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक तथा अन्य विभिन्न विश्वविद्यालयका शोधार्थीहरू समेत गरी ६० जना संलग्न गोष्ठीमा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले प्राज्ञिकता अभिवृद्धिमा क्याम्पसले विशेष महत्व दिएको उल्लेख गरे । अर्थशास्त्रका प्राध्यापक डा. बाबुराम ज्ञवालीले अनुसन्धानकर्ताका उत्कट जिज्ञासा सहितका अनुसन्धानले समाजलाई मार्गनिर्देश गर्ने बताए । कार्यक्रममा पूर्व क्याम्पस मोहनराज शर्मा, पशुपति कलेजका चन्द्रप्रकाश न्यौपाने राममणि क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारी, सदस्य माया घिमिरेलगायतले बोल्दै कार्यक्रम प्रेरणादायी, ज्ञानदायी र उच्च प्राज्ञिकस्तरको भएको बताएका थिए ।