२०८२ असार २६
बुटवल २५ असार ।
बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो।
यही असार १० गते उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत विनियोजन गरिएको थियो । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान छ ।
बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ।
सभामा विधायन समिति, न्यायिक समिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण समिति, लेखा समिति, जाँचपास तथा फरफारक समिति र सुशासन समिति प्रतिवेदन पारित भएको छ।
सभाको समापनमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई समानता स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर बनाउनका लागि सबैको सहकार्य जरुरी रहेको बताए। उनले नगरलाई सफा स्वच्छ र सुन्दर नगर बनाउने उदेश्यका साथ काम गरिरहेको बताए। उनले आगामी वर्षलाई शिक्षा, स्वास्थ्यका साथसाथै पर्यटन र कृषिलाई प्राथमिकताका साथ कार्यक्रम तय गरिएको बताए। उनले बुटवललाई भौतिक पूर्वाधार विकासमा मात्रै नभई मानव संसाधनको विकासमा समेत अग्रणी शहर बनाउने गरी योजनाहरु ल्याएको बताए।
आगामी आर्थिक वर्षमा करीब १० हजार भूमिहिन र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने गरी बुटवल उपमहानगरपालिकाले नापजाँचमा लगानी गरेको र सोही अनुसारको जनशक्ति परिचालन गरेको उनले बताए।
सभामा बोल्दै उनले बुटवलबाट प्रदेशको राजधानी सार्ने क्रममा बुटवललाई प्रदेशकै आर्थिक केन्द्र बनाउने भनिएपनि कुनै कार्यक्रम नआएकाले प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउने र बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि अगुवाई गर्ने बताए।
सभामा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई सबल र सम्पन्न सहर बनाउनका लागि सबै क्षेत्रको साथ आवश्यक रहेको बताइन्। उनले हालसम्म भएका उपलब्धिलाई अझ परिस्कृत गर्दै अगाडि बढ्ने बताइन्।
बुटवल उपमहानगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्य अगाडि सारेको थियो।
प्रमुख पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दुधर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताएका थिए।