२०८२ असार २८
बुटवल २७ असार ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड कार्यान्वयनको क्रममा हेल्थ एम्वेसडरको छनौट कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाले विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम निर्देशिका २०८१ अनुसार विद्यालय स्वास्थ्य कार्यक्रमको उद्देश्य र सञ्चालन, स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड, विद्यालय नर्स सम्बन्धी व्यवस्था, हेल्थ एम्बेस्डरको छनोट, जिम्मेवारी र क्षमता अभिवृद्धि, अभिलेखीकरण, अनुगमन र मूल्याङ्कन विद्यालय स्वास्थ्य कार्यक्रमका उद्देश्यहरू अन्तर्गत किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, प्रवर्द्वन गर्ने, महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, विद्यालय तहबाटै बालबालिकाहरूलाई स्वास्थ्य जीवनशैली अपनाउन र प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
त्यस्तै प्रत्येक सामुदायिक र संस्थागत विद्यालयहरूलाई स्वास्थ्य प्रवर्धनात्मक विद्यालयको रूपमा क्रमश प्रमाणीकरण गर्ने, विद्यालय तहबाट आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच पुर्याउने, स्वस्थ, सफा र स्वस्थ सिकाई मैत्री वातावरण तयार गर्नु, व्यवहार परिवर्तनमा आधारित स्वास्थ्य शिक्षा प्रदान गर्ने, स्वास्थ्यसंग सम्बन्धित विद्यालय कार्यक्रम कार्यान्वयन गर्ने, विद्यालय उमेरका बालबालिकाहरूको मानसिक स्वास्थ्य प्रवर्द्वन गर्ने, विद्यालय परिसरमा स्वास्थ्य सेवा, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सेवाहरूको व्यवस्था गरी विद्यार्थीहरूको तत्काल स्वास्थ्य समस्याहरूको समाधान गर्ने, स्वास्थ्यको कारण विद्यार्थीहरूको विद्यालय छोड्ने दर र अनुपस्थिति दर घटाउन सहयोग गर्ने, स्वास्थ्य जीवन शैलीका लागि सुरक्षित खेलकुद र शारीरिक गतिविधिहरूको आयोजना गरेर विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा हेल्थ एम्बेसडर छनोट र क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार उक्त अवसरमा प्रत्येक विद्यालयमा पाँच सय विद्यार्थी बराबर एक छात्र एक छात्रा हेल्थ एम्बेस्डर छनोट गर्ने प्रावधान अनुसार पाँच हजार विद्यार्थी भएकाले पाँच जना छात्र र पाँच जना छात्रा हेल्थ एम्बेस्डर छनोट गरिएको छ ।
जसमा छात्रतर्फ आशिष गौतम, कौशल आचार्य, माधव कुँवर, आर्जित कार्की, सविन पोखरेल र छात्रातर्फ समिता गौतम, विनिता महत, अनुष्का खड्का, सायमा बानो र रीतिका गाहा छनोट भएका छन् ।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखा प्रमुख युवराज पाण्डेयले विद्यालयमा हेल्थ एम्बेसडर छनोट गर्ने महत्त्वपूर्ण कार्य भएकोले बुटवल उपमहानगरपालिका भित्रका १९ वटा वडाले नै अनुकरण गर्न सक्ने किसिमले कार्य सम्पादन गर्न निर्देशन दिँदै अतिरिक्त क्रियाकलापका साथै पढाइलाई समन्वय गरेर नेतृत्व गरी जङ्गफुट नियन्त्रण, विद्यालयको चमेना गृह अनुगमन, दिवा खाजा अनुगमन लगायतका कार्यमा सक्रिय रूपमा लाग्न आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा ९ की विद्यार्थी आकृति गाहाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्टाफ नर्स दिपा केशरीले सहजीकरण गरेकी थिइन् ।
हेल्थ एम्बेसडर छनोट कार्यक्रममा शिक्षक प्रतिनिधि अनमी शिक्षक सुजिता श्रेष्ठ, एम्बेसडर छनोट भएका विद्यार्थीहरु विनिता महत, समिता गौतम, माधव कुँवर र आशिष गौतमले प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड अनुसार विद्यालय तहमा कोशी प्रदेशमा एक सय साठी, मधेश प्रदेशमा चालिस, बागमती प्रदेशमा आठ सय अड्चालिस, गण्डकी प्रदेशमा चवन्न, सुदूरपश्चिम प्रदेशमा छत्तीस र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट दुई सय अड्चालिस गरी सरकारी तवरमा एक हजार तीन सय छयासी सामुदायिक विद्यालयहरूमा स्टाफनर्सहरु कार्यरत रहेका छन् ।