२०८२ मंसिर २९
बुटवल, २८ मंसिर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्ने बताएका छन । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबार आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गरेका हुन ।
पूर्वाधारको विकासमा निर्माण व्यवसायीले काम नगरे तत्काल ठेक्का तोड्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले प्रदेश सरकारका विकास आयोजना पनि अलपत्र अवस्थामा रहेको जानकारी आएको र त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
मन्त्री घिसिङले कतिपय स्थानमा नयाँ पुल, सडक बनाउनुपर्ने अवस्था रहेको बताउँदै भएका सडकको मर्मत गर्नुपर्ने उल्लेख गरे ।
तनहुँमा निर्माण हुँदै गरेको तनहुँ जलविद्युत् आयोजनाले आर्थिक रूपमा ठूलो प्रभाव पार्ने मन्त्री घिसिङको भनाइ छ । उक्त आयोजना शतप्रतिशत रूपमा विद्युत् प्राधिकरणको स्वामित्वमा भएकाले जनतालाई सेयर दिन सकिने सकारात्मक पक्ष रहेको उनले जानकारी दिए । मन्त्री घिसिङले भने, ‘यसमा स्रोत सुनिश्चित भइसकेको छ, तर स्थानीयवासीको स्वामित्व कसरी बढाउने भन्नेमा छलफल गरी अगाडि बढ्ने छौँ ।’