२०८२ पुष १४
बुटवल,१४ पुस ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले लुकेका अपराध बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताएका छन ।
उनले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रूपमा चित्रित गरेका छन् ।
सोमबार लुम्बिनी प्रेस क्लबद्वारा लुम्बिनीमा आयोजित तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोह तथा क्लबको ११ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले समाजलाई भयरहित वातावरण बनाई नागरिकलाई सहज जीवनयापन गर्न पाउने अवस्था सिर्जना गर्न सञ्चार क्षेत्रको भूमिका उल्लेख्य रहेको जनाए ।
उनले खोज पत्रकारितामार्फत लुकेका कैयौं अपराध बाहिर ल्याउन सञ्चारकर्मीले सहयोग पुर्याइरहेको बताए । कहिलेकाहीँ घटनास्थलमा प्रहरी भन्दा पहिले सञ्चारकर्मी पुगेर अपराधमा संलग्नलाई पक्राउ गर्ने आधार र प्रमाण पाउँदा अनुसन्धानमा पनि सहयोग पुगेको उनले जनाए । ‘अफवाह, मिथ्या र भ्रामक सूचना चिर्न पत्रकारले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार दिएर नागरिकमा चेतनाको स्तर बढाउनुपर्छ’, उनले भने । लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवसका अवसरमा आयोजित हेरिटेज वाकको पनि महानिरीक्षक कार्कीले शुभारम्भ गरेका थिए । पर्सा चोकदेखि हेरिटेज वाक गर्दै टोली बेबी बुद्धमा पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिलका सदस्य नकुल अर्याल, क्लबका अध्यक्ष कमल रायमाझी, उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवाल, क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सिक्किम प्रेस क्लबका अध्यक्ष भीम राउत, महाराजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठी, प्रेस क्लबका महासचिव प्रकाश न्यौपाने लगायतले बोल्दै सञ्चार क्षेत्रको भूमिका अहम् रहेकाले विश्वसनीयता र तथ्यमा ध्यान दिन आग्रह गरे ।
तीन दिने न्युज फेस्टिवलमा नेपाल र भारतका पत्रकार, उद्योगी, पर्यटन व्यवसायी, भिक्षु र लामा गुरु, जनप्रतिनिधि लगायत सहभागी थिए ।