२०८२ चैत्र ६

आठौं बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिताको तयारी
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ६, शुक्रबार १४:२१ गते

बुटवल, ६ चैत ।
आठौ बुटवल खुला राष्ट्रिय तथा चौथो मेयर कप लनटेनिस प्रतियोगिता २०८२ तयारी पुरा भएको छ । रुपन्देही लनटेनिस संघको आयोजनामा चैत १६ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक संघका अध्यक्ष बिष्णु प्रसाद चापागाईले देवीनगरस्थित टेनिस कोर्ट मर्मत, रंगरोगन, खेलाडीहरुलाई पत्राचार लगायतका सबै काम सकिएको बताए । लन टेनिस खेलको विकास, प्रवद्र्धन, नयाँ युवा खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ विगतबाट निरन्तर प्रतियोगिता आयोजना हुदै आएको उनले बताए ।
प्रतियोगितामा देशभरका २ सय भन्दा बढी पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने छ । नेपालका वरियता क्रमका खेलाडीहरुले प्रतियोगितामा भाग लिने उनले बताए । बुटवल लन टेनिस क्लबको आयोजनामा बिसं. २०५७ सालदेखि काठमाण्डौ बाहिर बुटवलमा राष्ट्रियस्तरको प्रतियोगिताको शुरु हुदै आएको उनले बताए । प्रतियोगिताले यस क्षेत्रमा लन टेनिस खेलको लागि भौतिक संरचनाको थप विकास र पर्यटन प्रवद्र्धनमा समेत योगदान मिल्ने उनले बताए ।
कार्यक्रममा द्धितिय उपाध्यक्ष अनिल सेन्चुरीले खेल विकासमा यस क्षेत्रका खेलाडी, स्थानिय पालिकाबाट निरन्तर सहयोग हुदै आएको बताए । प्रतियोगिताका खेलहरु नेपाल लन टेनिस संघको स्वीकृति र अन्तर्राष्ट्रिय खेल नियम तथा मापदण्ड अनुसार सञ्चालन गरिने उनले बताए ।
प्रतियोगितामा पुरुष तथा महिला एकल र डबलतर्फ कुल ११ विधामा प्रतिस्पर्धा हुने संघका सचिव मनोज नेपालले बताए । जसमा एकलतर्फ पुरुष–महिला, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरी ६ विधा रहेका छन् भने डबलतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी ५ विधा गरी कुल ११ विधा रहेका छन् । जसमा एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद, कप, पदक र प्रमाणपत्र प्रदान गरिने छ । डबलतर्फ पहिलो र दोस्रो हुनेलाई मात्र पुरस्कारको व्यवस्था गरिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि कुल रु. २६ लाख ६७ हजार ५०० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएका छन् ।