२०८३ बैशाख १७
बुटवल १६ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ । सहुलियत दरमा औषधि र औषधी जन्य सामाग्री उपलब्ध गराउन नगरपालिकाले फार्मेसी सञ्चालनमा ल्याएको जनाएको छ ।
तिलोत्तमाको वडा नम्बर–५ मणिग्राममा फार्मेसीको बुधबार शुभारम्भ गरिएको छ । तिलोत्तमा नगरपालिका का अतिरिक्त अन्य जुनसुकै ठाउँका सेवाग्राहीले औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५ दशमलव १० प्रतिशत छुट पाउने ब्यवस्था फार्मेसीमा मिलाइएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
फार्मेसीको उदघाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले नागरिकको स्वस्थय तथा दिर्घायु जीवनका लागि नगरपालिकाले काम गर्दै आएको भन्दै पालिकाद्धारा सञ्चालित औषधि पसल देशभरिका पालिकाहरूका लागि नमुना उदाहरण बन्ने दाबी गरे । मुलुकको समवृद्धिका लागि नागरिक स्वस्थ्य हुनुपर्ने उल्लेख गर्दै उनले विपन्न वर्गले यसबाट लाभ लिन सक्ने धारणा राखे ।
नगर प्रमुख खाँणले आउँदो वर्षदेखि पालिकाले प्याथोलोजी सेवा पनि सञ्चालन गर्ने तयारीमा रहेको समेत बताए । नगरपालिकाले सेवाग्राहीलाई सहुलियत दिन सञ्चालनमा ल्याएको फार्मेसीका लागि बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए
सम्झौता अनुसार फार्मेसी रहेको घरभाडा नगरपालिकाले तिरिदिने छ भने, अन्य सबै छुट सेवा फार्मेसीले उपलब्ध गराउने छ । औषधि व्यवस्था विभागबाट बिक्री वितरणको लागि अनुमति प्राप्त स्वदेशी तथा विदेशी औषधि उत्पादक कम्पनीबाट उत्पादित सबै प्रकारका औषधि तथा औषधिजन्य सामग्री उपलब्ध हुने व्यवस्था मिलाइएको पनि भुसालले बताए ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नागरिकहरुको स्वस्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले काम गर्दै आएको भन्दै आवश्यक कार्यविधि बनाएर सर्तहरुसहित फार्मेसी सञ्चालनमा ल्याएको बताइन् ।



