२०८३ बैशाख १७
बुटवल १७ वैशाख ।
रुपन्देही जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिता तयारीका क्रममा बिहिवार व्यवस्थापन तथा निर्देशन समितिको बैठक बुटवलमा सम्पन्न भएको छ।
१६ औँ रूपन्देही जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बुटवल उपमहानगरपालिकाले प्राप्त गरेको छ । प्रतियोगितामा रूपन्देही जिल्लाका १६ वटा पालिकाहरूमध्ये १० वटाको सहभागिता रहने भएको छ । जसमा बुटवल उपमहानगरपालिका , तिलोतमा, देवदह ,सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा गैडहवा, शुद्धोधन, कञ्चन, मायादेवी र सियारी गाउपालिकाको मात्र सहभागिता रहने बताइएको छ ।
व्यवस्थापन तथा निर्देशन समितिको बैठकमा सहभागि नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार राष्ट्रपति रनिङसिल्ड प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नको लागि सरोकारवालाहरूबीच छलफल भएको छ । प्रतियोगिता अन्तरगत यही वैशाख २८ र २९ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा एथलेटिक्स तर्फका खेलहरू सञ्चालन हुनेछन् । रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबड हलमा तेक्वान्डो तथा करातेका खेलहरू सञ्चालन हुने भएका छन् ।
नवीन औद्योगिक कदरबहादुर रीता मा. वि.को सभाहलमा छात्र,छात्रा कबड्डी, न्यु होराइजन बोर्डिङ स्कुलको खेलमैदानमा छात्र भलिबल ,एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदानमा छात्रा भलिबल सञ्चालन गरिने भएको बस्नेतले बताए ।
बैठकमा रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, तेक्वान्दोका प्रशिक्षक प्रकाशराज भण्डारी, बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी हरिप्रसाद श्रेष्ठ ,नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया ,नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, एथलेटिक्सका वरिष्ठ प्रशिक्षक मोहन घले, रुपन्देही जिल्ला एथलेटिक्सका अध्यक्ष तुलबहादुर थापा ,उसुका प्रशिक्षक धर्म शाक्य , जिल्ला भलिबल संघ रूपन्देहीका उपाध्यक्ष लोकेन्द्र भण्डारी ,उसुका राष्ट्रिय रेफ्री मनोज राना, करातेका सन्तोष सिंह तेक्वान्दोका वरिष्ठ प्रशिक्षक राजकुमार पाण्डे , कबड्डीका प्रशिक्षक दिनेश आचार्य ,तेक्वान्डोका अन्तर्राष्ट्रिय रेफ्री राजेश साहनीलगायतले प्रतियोगिताबारे धारणा राखेका थिए । कार्यक्रममा तारा दलगण रामनगर ब्यारेकका निमित्त गणपति सेनानी झपेन्द्र चौधरी विभिन्न खेलविधाका प्रशिक्षकहरूको पनि सहभागिता रहेको थियो।

