२०८३ बैशाख २८

एसइईको नतिजा सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८३ बैशाख २८, सोमबार १६:३८ गते

काठमाण्डौं २८ बैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गर्दै नतिजा सार्वजनिक गरेको हो। अब बोर्डले तोकेको सिस्टमबाट नतिजा पनि हेर्न मिल्नेछ। १९ देखि २९ चैतसम्म सञ्चालन भएको परीक्षाको नतिजा एक महिनामै प्रकाशन गरिएको हो।
नतिजाअनुसार ६५.९८ प्रतिशत (दुई लाख ८४ हजार १६०) विद्यार्थी ग्रेडेड भएका छन्। यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र सहभागी थिए। शिक्षा मन्त्रालयको निर्देशनपछि यसपटक परीक्षा केन्द्रमै कापी परीक्षण गरिएको थियो।
५ वैशाखमा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी सिस्टममा नतिजा अध्यावधिक गर्ने कार्य थालिएको थियो। विगतका वर्षहरुमा तीन महिनामा नतिजा प्रकाशन गर्ने गरिए पनि यसपटक भने शिक्षा मन्त्रालयले नतिजा एक महिनामै निकाल्न सफल भएको हो। विद्यार्थीले बोर्डले दिएका लिंक, नम्बर तथा वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्।