२०८३ जेष्ठ ८
बुटवल ८ जेठ ।
लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३।०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । शुक्रबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठकमा प्रदेशसभा सदस्यहरुले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना र उद्यम विकासलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
सदस्यहरुले सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषयहरुको प्रभावकारी कार्यान्वयनको विषयदेखि बजेट कार्यान्वयन प्रणालीलाई बलियो बनाउनुपर्ने, योजनामा वित्तीय अनुशासन कायम गर्नुपर्ने तथा खर्च प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक रहेकोमो जोड पनि दिए ।
छलफलमा सहभागी सदस्यहरुले असारे विकास र आर्थिक वर्षको अन्तिम समयमा हतारमा खर्च गर्ने प्रवृत्ति रोक्नुपर्नेमा विशेष जोड दिएका छन् । बजेट योजनाबद्ध, आवश्यकता आधारित र जनमुखी हुनुपर्ने धारणा राख्दै उनीहरुले विकास निर्माणका काम समयमै सम्पन्न हुने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ, भगवती अधिकारी, भुवनेश्वर चौधरी, तारा थापा, डिल्लिराज भुसाल, मिना कुमारी श्रेष्ठ, बसन्ती न्यौपाने, यमबहादुर नेपाली सार्की, धनलक्ष्मी श्रेष्ठ, विष्णु प्रसाद पन्थीलगायतले छलफलमा भाग लिएका थिए । उनिहरुले बजेट प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सुझाव दिएका थिए ।