२०८३ जेष्ठ ३१

लुम्बिनीको बजेट भोलि अपराह्न ५ बजे
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ ३१, आईतवार ११:४१ गते

बुटवल ३१ जेठ ।
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३।८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत हुने भएको छ। प्रदेश सभाको आठौंँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा अपराह्न ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्ने कार्यक्रम तय भएको हो।
प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेको जनाएको छ। आगामी बजेट उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायकेन्द्रित हुने गरी बजेटको तयारी गरेको सरकारका मन्त्रीहरूको भनाइ छ।
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ र मूल्य शृंखला विकासलाई प्राथमिकतामा राखेको छ। कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति बजेटमा समेटिने जनाइएको छ।
युवालाई लक्षित गरी सिपमूलक तालिम, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तन कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने योजनालाई पनि बजेटले विशेष महत्त्व दिने बताइएको छ।
स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, क्यान्सर, मिर्गौला प्रत्यारोपण तथा मुटुरोगसम्बन्धी उपचारमा सहुलियतलाई निरन्तरता दिने तयारी छ। पर्यटन, उद्योग, ऊर्जा तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहितको बजेट प्रस्तुत हुने एक मन्त्रीले बताए।
चालू आर्थिक वर्ष ०८२।८३ का लागि प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। उक्त बजेटमध्ये २३ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत तथा १५ अर्ब ४३ करोड रुपैयाँ चालू खर्चतर्फ विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्षका लागि करिब ५ अर्ब कमको बजेट ल्याउने तयारीमा सरकार रहे पनि प्रदेश सभा सदस्यहरूबाट बजेट र योजनाको माग बढेपछि ३८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको जनाइएको छ।
प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य तथा ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’को दीर्घकालीन सोचलाई आधार मानेर बजेट निर्माणको काम भइरहेको बताइएको छ।