२०८३ असार ९

लुम्बिनीमा सत्ता पक्षकै सांसद बजेटको विरोधमा
  • लुम्बिनी खोज
  • २०८३ असार ९, मंगलवार १३:१५ गते

बुटवल ९ असार ।
लुम्बिनी प्रदेशमा सत्ता पक्षकै सांसदहरुले बजेटको विरोध गरेका छन्। बजेट मुख्यमन्त्री र मन्त्री केन्द्रित भएको भन्दै सत्तापक्षसहित विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रदेश सभा बैठक स्थगित भएको छ।

बैठक शुरु भएलगत्तै सभामुख तुलाराम घर्तिमगर कार्यसूचीमा प्रवेश गर्न खोजेका थिए। तर, प्रदेश सभाका केही सदस्यहरुले उभिएर विरोध जनाएपछि सहमतिका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।

सभाको बैठकमा कांग्रेसका बसीउद्दिन खाले ‘जहाँ जहाँ मन्त्री, त्यहाँ त्यहाँ बजेट भएपछि सत्ता पक्ष, प्रतिपक्ष भन्ने नै रहेन’ भन्दै बजेटमा असहमति राखे। यसरी जनतालाई ठग्न नपाइने भन्दै उनले माग सम्वोधन नभएसम्म सदन चल्न नदिने अडान सुनाए। त्यस्तै कांग्रेसकै भुवनेश्वर चौधरी, राजमो सांसद तारा थापा, नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्रकुमार पुन मगर, जनमत पार्टीका चन्द्रकेश गुप्तालगायतले बजेटको विरोध गर्दै बैठक अगाडी बढ्न नसक्ने बताए।

बैठकको शुरुमा सभामुख घर्तीमगरले विषयगत समितिका सदस्यहरु हेरफेर भएकोबारे जानाकारी गराएका थिए। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष ०८३र०८४ को राजश्व र व्यायको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव पेश भएपछि बैठक अगाडी बढाउन सभामुखले प्रयास गर्दा सांसदहरुले विरोध जनाएका हुन्।