२०८३ असार १८

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०८३ असार १८, बिहीबार १५:०४ गते

प्रहरीद्वारा चोरीका सुनका सिक्री र मोटरसाइकल बरामद

बुटवल, १८ असार।
रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका सुनका सिक्री लुटपाट (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाबाट लुटिएका सुनका सिक्री तथा एक मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

गैडहवामा सिक्री लुट्ने एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्द्रका अनुसार गत असार १७ गते रुपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा हाटबजारमा भिडभाडको मौका छोपी एक व्यक्तिको घाँटीमा लगाएको गणेश भगवानको लकेटसहितको सुनको सिक्री लुटिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा २५ वर्षिय विकाश रायलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनी पठाएको जनाएको छ।
प्रहरीले उनको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको सुनको सिक्री एक थान बरामद गरेको छ ।
तिलोत्तमाको घटनामा चार जना पक्राउ

त्यस्तै असार १० गते तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलस्थित चाँदनीमार्गमा बाटोमा हिँडिरहेका व्यक्तिबाट मोटरसाइकलमा आएका अपरिचित समूहले सुनको सिक्री लुटेका थिए ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षिय राहुल जयसवाल, २२ वर्षिय प्रिन्स जयसवाल, ३० वर्षिय नितेश कुमार गुप्ता र ३२ वर्षिय प्रदीप कान्दु रहेका छन् । यी ४ जना मध्ये प्रदीपबाहेक तीन जना भारतीय रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबाट प्रहरीले दुई थान सुनका सिक्री र लु ६५ प २९३१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
बरामद सिक्रीमध्ये एकको तौल २.९९ लाल ७ पोइन्ट र अर्कोको ९० लाल ७ पोइन्ट रहेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय बुटवल ले थप अनुसन्धान गरिरहेको छ।