२०८३ श्रावण २७
बुटवल, २७ साउन ।
स्कुल बस सञ्चालन निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको आयोजनामा विद्यालयको सवारी व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धमा प्रधानाध्यापकहरूसँग गरिएको अन्तरक्रियामा स्कूल बसका बारेमा छलफल गरिएको हो।
बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले अन्तरक्रियाको उद्देश्य तथा स्कुल बस सञ्चालन निर्देशिका, २०७४ का प्रावधानबारे सहजीकरण गरेका थिए।
प्रहरी उपरीक्षक थापाले विद्यालयहरूले स्कुल बस सञ्चालन निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले बसको क्षमताभन्दा बढी विद्यार्थी राख्न नहुने, बसमा अनिवार्य रूपमा अग्निनियन्त्रक उपकरण राख्नुपर्ने, डस्टबिनको व्यवस्था गर्नुपर्ने र बसको ढोका अनिवार्य रूपमा बन्द गर्नुपर्ने बताए।
त्यस्तै, विद्यार्थी चढाउने तथा झार्ने स्थान स्पष्ट रूपमा तोक्नुपर्ने, अभिभावकले विद्यार्थीलाई तोकिएको स्थानसम्म पुर्याउनुपर्ने र स्कुल बसको गति निर्धारित सीमाभित्र कायम गर्नुपर्नेमा उनले जोड दिए। विद्यालय, अभिभावक, चालक तथा सरोकारवाला सबैले सडक सुरक्षा र विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, हिसान रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, कान्ति माध्यमिक विद्यालय बुटवलका प्रधानाध्यापक गोविन्द ज्ञवाली, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली तथा स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडेलगायतले विद्यालय क्षेत्रको यातायात व्यवस्थापनका विषयमा सुझाव दिएका थिए।
उनीहरूले विद्यालय आसपास सञ्चालन हुने सवारीसाधनको गति नियन्त्रण, ओभरटेकिङको प्रभावकारी नियमन तथा सडकमा हुने जथाभावी पार्किङ व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। त्यसैगरी टिपरको गति नियन्त्रण, ई–रिक्साको व्यवस्थित सञ्चालन तथा पार्किङका लागि चालकलाई प्रभावकारी प्रशिक्षण दिनुपर्ने सुझाव राखेका थिए।
सडक लेन अनुशासन पूर्ण रूपमा पालना गराउन सक्रियता बढाउनुपर्ने तथा फुटपाथ भएका र नभएका सडकमा पैदलयात्रीले अपनाउनुपर्ने सुरक्षित उपायबारे प्रभावकारी रूपमा सचेतना फैलाउनुपर्ने सहभागीहरूको भनाइ थियो। देश तथा विदेशमा अभ्यासमा रहेका सुरक्षित यातायात व्यवस्थापनका असल अभ्यासलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न पहल गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए।
नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढा थापा तथा वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानु पाण्डेलगायतको सहभागिता रहेको थियो ।
