२०८३ भाद्र २

नवीनका विद्यार्थीले गरे प्रतिनिधि सभा बैठकको नमुना अभ्यास
  • लुम्बिनी खोज
  • २०८३ भाद्र १, सोमबार १३:०३ गते

बुटवल, १ भदौ ।
प्रतिनिधि सभा बैठकको झल्को दिने गरी बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका विद्यार्थीले संघीय नमुना संसद अभ्यास गरेका छन् ।
विद्यालयको आयोजनामा, नवीन विद्यार्थी क्लबको समन्वय तथा नेपाल प्रगतिशील युवा सञ्जालको सहकार्यमा सोमबार बुटवलमा संघीय नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीले प्रधानमन्त्री, मन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रमुख सचेतक तथा सांसदको भूमिका निर्वाह गरेका थिए ।
नमुना संसद बैठकमा सांसदको भूमिकामा रहेका विद्यार्थीले विभिन्न समसामयिक विषय उठाउँदै सरकारको भूमिकामा रहेका विद्यार्थीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. माधवबहादुर थापाले विद्यालयले आयोजना गर्ने नमुना संसद अभ्यासजस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने बताए । पाठ्यपुस्तकको अध्ययनले मात्र शिक्षा, सीप र ज्ञानलाई पूर्णता दिन नसक्ने भन्दै उनले समय, समाज, भूगोल, धर्म–संस्कृति, इतिहास, विज्ञान तथा प्रविधिलगायतका विषयमा ज्ञान हासिल गर्न अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए ।
उनले नमुना संसद अभ्यासमार्फत नेपालको संसदीय इतिहास, संसदीय अभ्यास, वर्तमान अवस्था, सत्ता पक्ष र प्रतिपक्षको भूमिका, मन्त्रिपरिषद् तथा संघीय संसदको संरचना र भूमिकाबारे विद्यार्थीले व्यवहारिक रूपमा बुझ्ने अवसर पाएको बताए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयले विभिन्न रचनात्मक तथा व्यवहारिक कार्यक्रम सञ्चालन गर्दै आएको र सोही क्रममा नमुना संसद अभ्यास आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल प्रगतिशील युवा सञ्जालका केन्द्रीय अध्यक्ष तथा प्रमुख कार्यक्रम प्रशिक्षक आकाश वलीले नमुना संसद अभ्यासको औचित्य र उद्देश्यबारे प्रकाश पारेका थिए । उद्घाटन सत्रमा नवीन विद्यार्थी क्लबकी अध्यक्ष अञ्जना ज्ञवालीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रमको सञ्चालन कक्षा ११ कानुन समूहकी छात्रा अनिशा बन्जाडेले गरेकी थिइन् ।
कार्यक्रमको दोस्रो सत्रमा भएको ‘नमुना संसद अभ्यास–२०८३’ मा सभामुखको भूमिका आकाश वलीले निर्वाह गरेका थिए । प्रधानमन्त्रीमा अनिश पोखरेल, महासचिवमा ललित बुढामगर, प्रमुख प्रतिपक्ष दलको नेतामा अनिशा बन्जाडे र प्रमुख सचेतकमा अनिशा भण्डारी रहेका थिए । सभामुख र महासचिवको भुमिका निर्वाह गर्नेहरु भने विद्यालयका विद्यार्थी हैनन् ।
समापन सत्र विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुरको अध्यक्षता तथा अनिशा बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा नेपाल प्रगतिशील युवा सञ्जालका सहप्रशिक्षक खेमप्रसाद आचार्यले नमुना संसद अभ्यासमा विधागत रूपमा उत्कृष्ट हुने विद्यार्थीको घोषणा गरेका थिए ।
जसअनुसार उत्कृष्ट वक्तामा सीमा कुर्मी, उत्कृष्ट अनुसन्धानकर्तामा गीता रोका, रचनात्मक प्रतिपक्षमा प्रमोद आचार्य र उत्कृष्ट नेतृत्वकर्तामा अनिशा बन्जाडे छनोट भएका थिए । कार्यक्रममा विधागत रूपमा उत्कृष्ट विद्यार्थी तथा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।