२०८१ मंसिर २१
बुटवल ।
बुटवलको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनाका साथ बुटवल उपमहानगरपालिकाले बुटवल ११ मा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो ।
स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्याश गरे । १७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको शालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले बताए ।
उनले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी र्पाक निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताए ।
उनले पार्क निर्माण भएपछि पर्यटकीय हिसाबले पनि लाभदायी हुने र त्यसको पहिलो लाभ स्थानीयले लिने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बुटवलबाट सहमति र सहकार्यको शुरुवात भएको र यसले देशभर सकारात्मक सन्देश फैलाउने बताए ।
उनले बुटवलले सार्वजनिक जग्गा संरक्षण र सौन्दर्यीकरणमा चासो दिदै पार्कहरु निर्माण गर्न लागेकोमा खुशी व्यक्त गरे ।
गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि शालिक सहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।