२०८१ श्रावण १२

झारफुकको बाहनामा कुटपिटबाट बालिका मृत्यु प्रकरण, बालिकाका बुवासहित १७ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २८, आईतवार १०:४१ गते

बुटवल २८ फागुन ।
रुपन्देहीमा झारफुकको बाहनामा कुटपिट गर्दा बालिकाको ज्यान गएको प्रकरणमा  प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । झारफुक र कुटपीट गर्ने झाक्रीलाई यही फागुन २१ गते पक्राउ  गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले अनुसन्धान गर्ने क्रममा यो साता १७ जनालाई पक्राउ गरेको छ  ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० झिमझिमेकी १४ वर्षकी सिता ज्ञवालीलाई सोही वडाको बेमतेनी बस्ने  २२ वर्षकी सोनिया रेश्मी (झाक्री) ले झारफुक गर्ने बहानामा कुटपिट गर्दा ज्ञवालीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कुटपिटमा संलग्न देखि देख्ने तथा दाहसस्कारमा सहभागि सम्मलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ । जिप्रकाका प्रहरी निरिक्षक दीपक कुवरले बालिकाको बुवालाई समेत पक्राउ गरिएको बताए । कुटपिटको घट्ना देख्दा रोक्न नसक्ने, कुटपिटबाट मृत्यु भएको छ भन्ने जानाकारी भएर पनि दाहासस्कारमा सहभागि भएकालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुको अदालतबाट म्याद थप गरि अनुसन्धान जारी राखिएको छ ।
यस्तो थियो घट्ना
यही फागुन २० गते शनिवार राती साढे ९ बजे सिताको कुटपिटबाट मृत्यु भएको र मृतकलाई सोही राती नै दाहसंस्कार गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट अर्को दिन खटिएको प्रहरी टोलीले झाक्री रेश्मी लाई पक्राउ गरेको थियो । प्रहरीले आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट  ७  दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य थालेको थियो । झाकीले आफ्नै घर नजिकै मन्दिर भित्र लछार पछार पारी कुट्दा  उनको मृत्यु भएको घट्नाको अनुसन्धानमा खटिएका ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताएका थिए ।
एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा यही फागुन २१ गते आइतवार प्रहरीको आखा पुग्छ । झाकी बालिकाको शरिर माथि चढी (बसी) हातमा घण्टी बजाउदै गालामा थप्पड हान्ने, आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने  र लछारपछार पारी कुटपिट समेत गरेको भिडियो प्रहरीले फेला परेको थियो ।                              त्यसपश्चात तत्काल उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पिडित बालिकाको सम्बन्धमा अनुसन्धान गरी बुझ्दै जाँदा उक्त झारफुक गरी सन्चो गराउछु भन्दै कुटपिट गर्ने महिला माता भन्ने सोनिया रेश्मी रहेको तथ्यमा प्रहरी पुगेको थियो ।         तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा तत्काल उल्लेखित घटनास्थलमा गई भिडियोको आधारमा अनुसन्धान गर्दा सामाजिक सञ्जालमा प्रकाशन भएको भिडियोमा बालिकालाइ कुटपिट गर्ने महिलालाई उनकै घरमा फेला पारी तत्काल पक्राउ गरेको थियो ।
प्रहरीले सोनियाको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामाग्री त्रिशुल, जग, रुद्राक्षको माला लगायतका चिजबस्तु बरामद गरेको थियो ।
के भएको थियो सीतालाई ?
इप्रका सालझण्डीका अनुसार मृतक सिता ज्ञवालीको केही दिनदेखि कान दुख्ने समस्या भएको थियो । प्रहरीले सीताको घर परिवारसंग भएको कुराकानीका आधारमा बताए अनुसार ४÷५ दिनदेखि सिता  कान सम्बन्धी बिरामी भएकी थिइन । पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएपछि झाक्रीकोमा लगेको खुल्न आएको मरासिनीले बताए ।  माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
सोनिया रेश्मीले सिता ज्ञवालीलाई झारफुक गर्दै लछारपछार पारी भुईमा लडाई, कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल (फेसबुक) मा देखिएको र सोही कुटपिटका कारण सोही ठाउँमा नै मृत्यु भएको र मृतकको शबलाई रातीनै दाहसस्कारको लागि घरपरिवाले कपिलबस्तुको लक्ष्मणघाट लगेको खुल्न आएको प्रहरीको भनाइ छ ।   दाहसस्कारको लागि जादा र दाहसस्कार गरी फर्किदाको पुर्वपश्चिम महेन्द्रराजमार्गमा रहेका सिसिटिभिहरुको फुटेज समेत देखिएकोले सो समेतको आधारमा अनुसन्धान गरिरहेको छ ।
कान दुखिरहेको समस्या बताएपछि यही फागुन १५ गते सीतालाई उपचारका लागि लगेका थिए । उनको परिवारले डाक्टर सग परामर्श गरी औषधी ल्याएका थिए । तर कम नभएपछि स्थानिय मेडिकलमा लैजाने काम पनि गरेका थिए । शनिवार दिउसो सलाइन पनि चढाएको र कम नभएपछि झाक्रीकोमा लगेको खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरी निरिक्षक मरासिनीका अनुसार सीता कक्षा ९ मा अध्यानरत थिइन ।