२०८१ श्रावण १२

मर्चवारीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध झण्डै एक करोड भ्रष्टाचारको मुद्दा, स्रोत नखुलेको रकम ९२ लाख
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ९, बिहीबार १३:२८ गते

बुटवल ९ चैत ।
रुपन्देहीको मर्चवारी गाउपालिकाका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध झण्डै एक करोड भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनको स्रोत नखुलेको रकम ९२ लाख रहेको ठहर पनि गरिएको छ ।
९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । बनियाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो । अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिए वापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ ।
यही अवधिमा उनको खर्च र लगानी भने १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा पाइएको अख्तियारले जनाएको छ । यसमा छोराहरुको अध्ययनमा गरेको खर्चदेखि घर निर्माण खर्च, छोराको नाममा जग्गा, मोटरसाइकल, ट्याक्टर खरिद, परिवारको नाममा रहेको मौज्दात समेत समावेश छ । बानियाँको वैधानिक आयभन्दा बढी देखिएको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारले बताएको छ ।

के छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको आरोप पत्रमा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

 

प्रेस विज्ञप्ति

   विषय: आरोपपत्र दायर गरिएको

जिल्ला रुपन्देही, मर्चवारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवदेन सम्बन्धमा अनुसन्धान हुँदा निज केशवनन्द बनिया मिति 2074।03।14 गतेको स्थानीय निर्वाचनबाट निर्वावित भई जिल्ला रूपन्देही, मर्चवारी गाउँपालिकाको अध्यक्ष मिति २०७4।03।21 देखि मिति २०७9।०१।09 सम्म पदमा रही काम गरेको देखिंदा निजले सार्वजनिक पद धारण गरेको मिति 2074।03।21 गतेदेखि मिति 2078।11।30 गतेसम्मको अवधिलाई जाँच अवधि मानी सोही जाँच अबधिमा स्वआर्जित तथा सिर्जित सम्पत्ति एवं लगानी तथा खर्चहरुका सम्बन्धमा निज केशवनन्द बनिया गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएदेखि जाँच अवधिसम्ममा पारिश्रमिक, बैठक भत्ता लगायत, ट्र्याक्टर र हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, निजको छोराको नाममा रहेको घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बीमाबापत प्राप्त रकम, शाखारहीत बैंक संचालन गरी प्राप्त गरेको आय र राईस मिलबाट प्राप्त आयसमेत गरी निज गाउँपालिका अध्यक्ष भएपछि जाँच अवधिसम्म रु.84,10,४५१।06 (चौरासी लाख दश हजार चार सय एकाउन्न रूपैंया पैसा) आम्दानी गरेको देखिन्छ।

त्यसैगरी निजको खर्च तथा लगानीतर्फ निजको छोराहरुलाई अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा बिभिन्न जग्गा खरिद, बीमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र ट्र्याक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवाब्याज रकम, राईस मिलको आय बापत तिरेको आयकर र निज तथा निजको परिवारको नाममा बिभिन्न बैंकहरुमा रहेको खातामा भएको मौज्दात रकमसमेत गरी जम्मा रु.1,७५,9,९९४।36 (एक करोड पचहत्तर लाख छयानब्बे हजार नौ सय चौरानब्बे रूपैंया छत्तीस पैसा) खर्च तथा लगानी रहेकोले निजको आय रू.84,10,४५१।06 को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी रू.1,७५,9,९९४।36 देखिंदा आयभन्दा वढी ब्यय गरेको रु.९१,८६,५४३।3 (एकानब्बे लाख छयासी हजार पाँच सय त्रिचाल रूपैंया तीस पैसा) बराबर रकमको स्रोत नखुलेको हुँदा निज केशवनन्द बनिया र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको निज र छोराको नाममा जग्गाहरु लगायतका चलअचल सम्पत्ति खरिद गरेको, घर निर्माण गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिंदा निजले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले सार्वजजिक पद धारण गरेका केशवनन्द बनियाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजलाई विगो रु.91,86,54330 (एकान्नब्बे लाख छ्यासी हजार पाँच सय त्रिचालीस रूपैंया तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निज र निजको परिवारको नाममा हाल कायम रहेको सम्पत्तिसमेतबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत/असुल उपर गरी पाउन मागदाबी लिइएको छ।

साथै, निज केशवनन्द बनियाले सार्वजनिक पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनीरुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले छोरा पंकज कान्दुको नाममा जग्गाहरु खरिद, घर निर्माण, सवारी खरिद तथा बैंक खाताहरुमा रहेको रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको, लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम निजको छोरा पंकज कान्दुसमेतलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत र जरिवाना असुल गरी पाउन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
भोला दाहाल