२०८१ श्रावण १२

लुम्बिनीका ऐतिहासिक सम्पदाको संरक्षण गर्न सरकारले उच्च प्राथमिकतामा दिएको छ:प्रधानमन्त्री
  • लुम्बिनी खोज
  • २०८० बैशाख २२, शुक्रबार ०८:५७ गते

बुटवल, २२ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन ।
२५६७औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै दिगो विकासका लागि सरकारले गुरुयोजनाका साथ लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी काम अगाडि बढाइरहेको उनले बताए । उनले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घसंस्थाको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गरिने जानकारी दिए ।
पछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले बुद्धजन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना रहेको स्पष्ट पारे।
संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता अथाह रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रचुर सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताए।
उनले किरात दर्शन, बुद्ध दर्शन, षड्दर्शनलगायतका नेपाली दर्शनमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू रहेको र तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवद्र्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक रहेको बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताए । लुम्बिनी विकास कोषमा अनेकौँ विकृति, विसङ्गति रहेको भन्दै लुम्बिनीको विकासका लागि अवसर र चुनौती दुवै रहेको बताए ।

उनले आगामी जेठ १६ गतदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट नेपाल वायुसेवा निगमका जहाज चल्ने बताए । उनले यसबाट लुम्बिनी र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री प्रचण्डसँग क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मेवारी रहेको मन्त्री किरातीले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउन सङ्घीय सरकारलाई अग्रह गरे । उनले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकर्षित गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरू निर्माण र हरेक महिना पूजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताए ।

मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरे । लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औँल्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औँल्याए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मेत्तैयले लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताए । उनले विश्वभरका करिब चार अर्ब बौद्ध धर्मावलम्बी रहेका उल्लेख गर्दै उनीहरूलाई बुद्ध सर्किटमा आकर्षित गर्न सकिने बताए ।
शाक्यमुनि बुद्ध इसापूर्व ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन भएकाले यो अत्यन्तै महत्वपूर्ण दिनका रूपमा लिइने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बताए ।
कार्यक्रममा धम्मावती गुरुमा, वरिष्ठ पुरातात्वविद् वसन्त बिडारी, बौद्धविद्वान् डुण्डबहादुर बज्राचार्य, होटेल व्यवसायी गोविन्द ज्ञवालीलाई सम्मान गरिएको थियो।