२०८१ श्रावण १२

अदालतको फैसलापछि मात्रै बालकृष्ण खाणलाई कांग्रेसले कारबाही गर्ने
  • लुम्बिनी खोज
  • २०८० बैशाख २८, बिहीबार १६:३५ गते

बुटवल,२८ बैशाख ।

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका विषयमा अदालतले गर्ने निर्णयलाई आधार मानेर आगामी दिनमा आवश्यक निर्णय गर्ने भन्दै अहिले नै बालकृष्ण खाणलाई कारवाही गर्ने कुनै निर्णय नभएको बताए ।

उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताए । यस प्रकरणका विषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ ।त्यस्तै बैठकमा नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नका लागि वातावरण बनाउने विषयमा छलफल भएको परियारले बताए ।

बैठकले नीति अधिवेशन गर्नुभन्दा अघि भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल भएको उनले जाना‍कारी दिए । बैठकमा कोशी प्रदेश सरकारका विषयमा पनि गम्भीर रूपमा छलफल गरेर केन्द्रको सरकारसँग तालमेल गर्ने भन्ने विषयमा छलफल भएको परियारले बताए ।