२०८१ श्रावण १२

लुम्बिनी केबुलकार व्यवसायिक सञ्चालनमा
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १४, आईतवार १४:१९ गते

बुटवल, १४ जेठ ।
आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार भोलि सोमबार जेठ १५ गते देखि व्यवसायिकरुपमा सञ्चालन हुने भएको छ । लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आउने बताए ।
‘जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आउंछ’–अध्यक्ष ढकालले आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने । उनका अनुसार जेठ २५ गते औपचारिकरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन हुनेछ ।
केबलकारको बुटवलको वडा नं ३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ बसन्तपुरमा टप स्टेशन रहेको छ ।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको असरलाई पुर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालको धारणा छ । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।
बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयां धार्मिक र पर्यटकीय गन्तब्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताए । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने लगानीकर्ताहरुको धारणा छ ।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
२.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेका छन । टप स्टेशनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् । केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने बताइएको छ ।