२०८१ श्रावण १२

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ: प्रधानमन्त्री प्रचण्ड
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ २५, बिहीबार १७:०९ गते

बुटवल, २५ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन ।
बिहीवार लुम्बिनी केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले महामारीको मारमा परेका व्यवसायीलाई राहत दिने गरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रको सुझावलाई सरकारले भर्खरै सार्वजनिक गरेको आउँदो वर्षको बजेटमा समेटेको दाबी गरे । वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको उनको भनाइ छ ।

रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने उनले बताए । नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाई पनि लम्ब्याउन सकिने प्रधानमन्त्रीको भनाई छ ।
पर्यावरणीय महत्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्रीले सुझाव दिए । वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।
मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको प्रधानमन्त्रीले बताए । अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाई छ । ‘हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन’–प्रधानमन्त्रीले भने । पछिल्लो ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समातेको र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउन थालेको प्रधानमन्त्रीको दावी छ ।

कार्यक्रममा भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटक यहाँ आर्कषित हुन सक्ने सम्भावना देखिएको बताए। ‘नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ। नयाँ गन्तव्यका कारण नेपाल र भारतबीच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेछ,’ उनले भने।

केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार धार्मिक पर्यटन सर्किट निर्माणको नयाँ अभियानबारे धारणा राखे। केबलकार धार्मिक सर्किटको विकासले पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ । निजी क्षेत्रको लगानी केवल व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्वतर्फ पनि ध्यान दिएको उनले प्रस्ट पारे।

कार्यक्रममा बोल्दै पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पुरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताए । पाल्पा र रुपन्देहीलाई जोड्ने काम केबलकारले गरेको उनले बताए । अन्त कहीं पनि निर्माण गर्न नसकिने बुद्ध जन्मस्थल र योसंगै जोडिएका धेरै संरचना प्रदेशमा रहेको भन्दै उनले यसको ऐतिहासिक सम्पदा, सामाजिक सांस्कृतिक सम्पदालाई प्रचारप्रसार गरेर अघि बढ्न जरुरी रहेको बताए । गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–नारायणगढ सडक बिस्तार जस्ता परियोजनालाई निरन्तरता दिन जरुरी रहेको उनले बताए । लगानी निजी क्षेत्रबाट भएपनि यसबाट सबैको आर्थिक सबलीकरणमा सहयोग मिल्ने पौडेलको भनाई छ ।

कार्यक्रममा संघीय सांसद ठाकुर गैरे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पर्यटन नै आर्थिक विकासको आधार भएको बताए ।
कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यो क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै यहाँको विकासमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।