४ जेष्ठ २०८१, शुक्रबार

झन्डै ५० वर्षपछि चन्द्रमामा रुसी मिसन
  • लुम्बिनी खोज
  • २७ श्रावण २०८०, शनिबार १३:०५

बुटवल २७ साउन ।
रुसले चन्द्रामा दक्षिणी ध्रुवमा (सफ्ट ल्यान्डिङ्ग) गर्ने पहिलो देश बन्ने उद्देश्यसहित शुक्रवार आफ्नो चन्द्र मिसन लूना–२५ प्रक्षेपण गरेको छ।
पछिल्लो ४७ वर्षमा मस्कोले अन्तरिक्षमा पठाएको पहिलो अभियान अन्तर्गत पूर्वी रुसबाट उक्त यान प्रक्षेपण गरिएको थियो।

पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने र चीनसँग मिलेर पनि अन्तरिक्ष अभियान अघि बढाउने बताउने गरेको छ।
रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो।
बीबीसी का अनुसार शुक्रवार प्रक्षेपण गरिएको मिसन अनुसार रुसको अन्तरिक्ष यान चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्नेछ। उक्त क्षेत्रमा पानी हुनसक्ने ठानिएको छ।

यो रुसी अभियानअघि १४ जुलाईमा भारतले चन्द्रयान–३ प्रक्षेपण गरेको थियो। चन्द्रयान–३ पनि चन्द्रमाको सतहमा उत्रिनेछ। रुसको यो अभियानलाई चीन र अमेरिकाको चन्द्र मिसनसँगको एउटा प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

अमेरिका र चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पुर्‍याउनका लागि पूर्व तयारी मिसनहरू सुरु गरेका छन्।
रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अनुसार लूना–२५ लाई सोयुज २.१ बी रकेटबाट वोस्तोनी कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको हो। उक्त स्थान मस्कोबाट करिब ५,५०० किलोमिटर पूर्वमा छ।

सोयुज २.१ बी रकेटको माथिल्लो हिस्सा प्रक्षेपण गरिएको एक घण्टापछि पृथ्वीको कक्षको बाहिरतर्फ धकेलिँदै चन्द्रमातर्फ अघि बढेको थियो।

लूना–२५ मा रोवर र ल्यान्डर छन्। यसको ल्यान्डरको तौल ८०० किलो छ। यसले पहिले ‘सफ्ट ल्यान्डिङ’ को अभ्यास गर्ने बताइएको छ।

त्यसपछि त्यसले चन्द्रमाको माटोको नमुना सङ्कलन गर्नेछ र विश्लेषण गर्न थाल्नेछ। लामो समयसम्म चल्ने अनुसन्धानमा पनि यो यान सहभागी हुने भनिएको छ।

लूना–२५ को उद्देश्य के हो ?
लूना–२५ को आकार सानो कार बराबर छ। चन्द्रमाको दक्षिणी ध्रुवमा यसले एक वर्षसम्म काम गर्छ। हालैका केही वर्षहरूमा नासा र अरू अन्तरिक्ष एजेन्सीहरूले त्यहाँ बरफ रहेको सङ्केत पाएका थिए।
रुसको चन्द्रमा अभियानको राजनीतिक अर्थ रहेको पनि ठानिएको छ।
रुसले युक्रेन युद्ध सुरु भएपछि आफ्नो मुलुकलाई पश्चिमी देशहरूले प्रतिबन्ध लगाएर आफ्नो अन्तरिक्ष कार्यक्रमलाई निशानामा पार्न खोजेको बताउने गरेको छ।
तर ती प्रतिबन्धले आफ्नो मुलुकको अर्थव्यवस्थालाई ध्वस्त पार्न नसकेको उसको भनाइ छ।
मस्कोले पछिल्ला केही दशकयता यो अभियानको तयारी गरिरहेको थियो। यदि उसको चन्द्रमा मिसन सफल भयो भने यो उसको लागि एउटा ठूलो उपलब्धि हुनेछ।
युक्रेनमाथि आक्रमण गरिएपछि पश्चिमा देशहरूका अन्तरिक्ष एजेन्सीहरूले रुसको अन्तरिक्ष निकायसँगको सहकार्य समाप्त गरेका छन्।
युरोपेली स्पेस एजेन्सीले लूना–२५ मा आफ्नो एक किसिमको नेभिगेसन क्यामरा जोडेर त्यसको परीक्षण गर्ने योजना बनाएको थियो। तर युक्रेनमाथि रुसले आक्रमण गरेपछि उसले उक्त योजना स्थगित गर्‍यो।
अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ सन् १९६९ मा चन्द्रमामा पुगेका थिए। तर तत्कालीन सोभियत सङ्घको लूना–२ मिसन अन्तर्गत सन् १९५९ मा चन्द्रमामा पहिलो अन्तरिक्षयान पुगेको थियो।
सन् १९६६ को लूना–९ मिसन चन्द्रमा रुसको पहिलो सफ्ट लेन्डीङ मिसन थियो।
रोस्कोस्मसले भनेको छ यो मिसनको उद्देश्य सफ्ट ल्यान्डिङ्ग प्रविधिलाई विकसित तुल्याउनु र चन्द्रमाको आन्तरिक संरचनामाथि अनुसन्धान गरेर पानीजस्ता वस्तु खोज्नु रहेको छ।

चन्द्रयान–३ भन्दा कसरी यो यान पहिले चन्द्रमामा पुग्छ ?
रूसको अन्तरिक्ष ब्युरोका प्रमुख यूरी बोरिसोवले लूना–२५ ले यी महिना २१ अगस्टमा चन्द्रमा सतहलाई छुनसक्ने बताएका छन्।
अघिल्लो महिनाको १४ जुलाईमा भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ अगस्ट २३ मा चन्द्रमा अवतरण गर्नसक्ने ठानिएको छ।
यस्तोमा एक महिनाअघि प्रक्षेपण गरिएको भारतीय यान भन्दा पहिला नै रुसी अन्तरिक्ष यान कसरी चन्द्रमा पुग्छ भन्ने पनि प्रश्न उठेको छ।
चन्द्रयान–३ ले लूना–२५ मिसनको तुलनामा लामो बाटो तय गरेकाले पनि यस्तो हुन लागेको बताइन्छ।

चन्द्रयान–३ ले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षणको फाइदा लिन चाहेको र कम इन्धनमा यात्रा गरिरहेको बताइन्छ। रिचिङ फर द स्टार्सस् इण्डियाज जर्नी टु मार्स एन्ड बियोन्डका लेखक एवं विज्ञान पत्रकार पल्लव बागला भन्छन्, “यो रकेट शक्तिशाली भएर पनि हो। रुसी रकेट ज्यादै ठूलो छ तर हाम्रो सानो छ। हाम्रो रकेटले चन्द्रयान–३ लाई यती वेग दिन सक्दैन कि त्यो एकदमै तीव्र गतिमा चन्द्रमा पुग्न सकोस्।”

शक्तिशाली र ठूलो रकेट ज्यादै खर्चिलो हुने भएकाले भारतले सानो रकेटबाटै आफ्नो योजना अघि बढाएको उनले बताए।

उनले थपे, “सबैभन्दा ठूलो कुरा यो हो कि भारतले मौका गुमाएन। उसले आफ्नो सीमित स्रोत साधनका बावजुद आफ्नो मिसनलाई प्रक्षेपण गरेर देखायो। यो भारतीय वैज्ञानिकहरूको उपलब्धि हो। रुसको तुलनामा अन्तरिक्ष मिसनको मामिलामा भारत सानो खेलाडी हो।”

भारतीय अन्तरिक्ष निकाय इसरोले लूना–२५ को सफल प्रक्षेपणका लागि रोस्कोस्मसलाई बधाई दिएको छ।

रुसले यसअघि सन् १९७६ मा लूना–२४ मिसन चन्द्रमामा पुर्‍याएको थियो। यसअघि अन्तरीक्षयानहरू चन्द्रमाको मध्य बिन्दुमा पुगेको भएपनि पहिलो पटक कुनै मिसन चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न लागेकाले यी अभियानहरूलाई चासोसाथ हेरिएको छ।
सन् १९७६ मा प्रक्षेपण गरिएको लूना–२४ चन्द्रमाबाट करिब १७० ग्राम माटो लिएर सुरक्षित ढङ्गले पृथ्वीमा फर्किएको थियो।
अन्तरिक्ष वैज्ञानिक भ्लादिमिर सार्डिनले लूना २५ मिसन सफल हुने सम्भावना ५० प्रतिशत रहेको बताएका छन्।
(बीबीसी बाट)