२०८१ श्रावण १२

कार्यवाहक सभामुख काठमाडौं गएपछि कोसीका मुख्यमन्त्रीले लिने विश्वासको मत अनिश्चित
  • लुम्बिनी खोज
  • २०८० भाद्र ४, सोमबार ०८:११ गते

बुटवल ४ भदौ ।
कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार लिने भनिएको विश्वासको मत अनिश्चित बनेको छ।

आज विश्वासको मत लिने कार्यसूची तय भए पनि प्रदेश सभा बैठक सञ्चालन गर्ने उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले लिने भनिएको विश्वासको मत अनिश्चित भएको हो।

कोसी प्रदेश कार्यवाहक सभामुखसमेत रहेकी उपसभामुख दनुवार आफैँले ४ भदौमा विश्वासको मत लिने समय दिइकी थिइन्। तर, आज अचानक उनी काठमाडौं गएकी छिन्। उनी अकस्मात् काठमाडौं हिँडेपछि आज बस्ने कोसी प्रदेश सभा बैठक अनिश्चित बनेको छ।

थापा १६ साउनमा पुनः दोस्रोपटक मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। यसअघि २१ असारमा पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले ११ साउनमा पदमुक्त गरेको थियो।

मुख्यमन्त्री दाबी गर्दा प्रदेश सभा सभामुखको समेत हस्ताक्षर संलग्न गराएको विषयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उनको नियुक्ति बदर गरेको थियो।
यसैवीच कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले उपसभामुखले विश्वासको मत लिने दिन बिदामा बसेर उपसभामुख सिर्जना दनुवारले संसदीय परम्परा तोडेको आरोप लगाएका छन् । उनले सोमबार विश्वासको मत लिने सम्भावना अब नरहेकाले १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने बताए ।

उपसभामुख दनुवारले आफैंले बोलाएको बैठकमा अनुपस्थित भएर संसदीय व्यवस्थालाई धरापमा पार्ने र द्वन्द्व सिर्जना गर्ने अवस्था निर्माण गरेको मुख्यमन्त्री थापाको आरोप छ । उनले अहिलेको विषम परिस्थितिबाट शान्तिपूर्ण तरिकाले सहज निकासका लागि परामर्श गरिरहेको बताए ।९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना छन्, जुन बुहमत मात्रै हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ ९उपसभामुख बाहेक० र राप्रपाको ६ जना सांसद छन् ।